माकुराबाट पीडा घटाउन र स्नायुमा पुगेको क्षति निको गर्नमा माकुराको प्रयोग गर्न सकिने विश्वासमा वैज्ञानिक छन्।
हामीमध्ये धेरैजसो आठखुट्टे किरा माकुरासँग तर्सन्छौँ तर प्रकृतिको एक उत्कृष्ट बुनकर माकुराको उपयोगिता धेरै छ। विश्वमा एन्टार्कटिकाबाहेक सबै क्षेत्रमा गरी करिब चालिस हजार प्रजातिका माकुरा पाइन्छन्।
सबैजसो माकुरामा टोक्न सक्ने क्षमता भए पनि लगभग एक दर्जन प्रजातिका माकुराले मात्र आफ्नो विषबाट हामीलाई क्षति पु¥याउन सक्छन्।
ती माकुराले टोकेमा ज्वरो आउने, चिलाउने, वाकवाकी लाग्ने, बान्ता हुने वा फोका आउने गर्छ। कसैकसैलाई सास लिन कठिन हुने गर्छ र ज्यान पनि जान सक्छ।
वैज्ञानिकले माकुराको विषका यस्ता यौगिक खोजेका छन् जसबाट तीव्र पीडाको उपचार गर्न सकिन्छ।
माकुराको विषले मानिसलाई हानि पुर्याउन सक्ने भएकाले त्यसलाई वैज्ञानिकले सावधानीसाथ प्रयोगमा ल्याउने प्रयास गरेका छन्। अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयका वैज्ञानिकले माकुराको विषमा ती यौगिक खोजेका थिए।
दुई सय पाँच प्रजातिका माकुराको विषको अनुसन्धान गरी वैज्ञानिक टोलीले ४० प्रतिशत विषमा कम्तीमा एक पीडाहरक यौगिक भएको पत्ता लगाइएको थियो।
माकुराको विष मात्र होइन त्यसले उत्पादन गर्ने रेसाबाट मानिसको स्नायु तन्त्रिकाको मर्मत गर्न सकिने वैज्ञानिकको भनाइ छ।
सन् २०११ मा जर्मनीको हानोभर मेडिकल स्कुलका वैज्ञानिकले सो खोज गरेका थिए। माकुराको रेसा निकै बलियो हुन्छ र अनुसन्धानबाट पत्ता लागे अनुसार माकुराको रेसा स्टिलभन्दा पाँच गुणा अधिक बलियो हुन्छ।













