कठोर शब्द राम्रो हो, व्यर्थको मनोरञ्जनभन्दा ! जो जो चीज हामी छोड्दै जान्छौँ हामी स्वतन्त्र हुँदै जान्छौं । नम्रता र अकिञ्चनता त्यागको प्रकाश हो यस प्रकाशमा जीवनको आनन्द नृत्य गरिरहेको हुन्छ । विषयको लालसा तुरुन्त त्याग्नुपर्छ, सुस्त सुस्त छैन ।
आसक्ति दुःख हो अनासक्तता सुख हो । ‘म र मेरो’बाट जो पारी पुग्यो अहा कति रमाइलो ! चाहनु नचाहनुको सबै यात्रा दुःख कै बजार हो । जो सन्तोषी र त्यागी छ त्यही मुक्त छ, बाँकी बाँधिएका छन् । अनासक्तिका हतियारले सबै बन्धन काट, कसैले आएर काटिदिने छैन । सबै बाँध्ने मात्रै छन् । जसले केही चाहँदैन उसको चाह गर, त्यहाँ स्वतन्त्रता छ अथवा सत्पुरुषको साथ गर जीवन प्रकाशित हुनेछ ।
सहज दृष्टि जबसम्म आउँदैन तबसम्म यथार्थ अवलोकन हुँदैन ‘यथार्थ अवलोकन’ सत्य दृष्टिको प्रकाश हो ।
धेरै प्रकारका दृष्टिहरू (राग दृष्टि, वैराग दृष्टि, उदासीन दृष्टि, उपेक्षादृष्टि, सामान्य दृष्टि, अदृष्टि, सहजदृष्टि आदि) छन् । यसै प्रकार स्वाद, श्रवण, घ्राण, सम्भोग, बोल्नु, खेल्नु, हिँड्नु, मान्नु, त्याग्नु, ग्रहण गर्नु, स्वप्न देख्नु, शयन गर्नु सबैलाई आठ भागमा हेर्न सकिन्छ ।
यसै क्षण शून्य भऐर प्रकृतिको आँगनमा, अकिञ्चनताको प्रकाशमा विचरण गर, अपूर्व दिव्यता छ । चाहनु–नचाहनु जबसम्म छ, मनले शब्दमा, समय–समयको परिस्थितिमा मान अपमानलाई ल्याएर सम्मुख उभ्याइदिन्छ ।
सुखेको पात रूखबाट उडे झैँ जीवनको प्रवाहमा प्रवाहित हुन सिक्नुपर्छ, सक्नुपर्छ, कल्पना वा लोभले सत्य पाइँदैन ।
जीव आपूmमा पूर्ण छैन भने कसले पूर्णता दिन्छ ? मोह–ममता, लोभ–कञ्चन कामिनीको आधिपत्यता, प्रदर्शन आडम्बर छोड्नैपर्छ ।
कसो गर्नु र के गर्नुलाई अति भन्नु ? अज्ञानीलाई मूर्खलाई जो सहज छ त्यो ज्ञानीलाई अति हुन्छ । ज्ञानीलाई, स्थितप्रज्ञलाई जो सहज छ त्यो मूर्खलाई अति हुन्छ ।
अति के हो ? यथार्थमा व्याख्या गर्न कठिन छ । बुद्धि, समय, जिज्ञासा अनुसार कर्म हुन्छ ।
कर्म, बुद्धि, भाग्य, सहयोग, संयोग र समय यी छ तत्वलाई छुट्याउन गाह्रो छ । नगरे पनि नगर्ने कर्म छ, गर्दिनँ भन्ने बुद्धि छ । भाग्य अनुसार पाउँछ, स्थान व्यक्तिको सहयोग चाहियो संयोग गर्नुपरयो–समयविना केही पनि हुँदैन । यहाँ सजग मौन साक्षी भावले स्वतन्त्रता दिन्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













