बागमती । बागमती प्रदेश सरकारले सन् २०२४ लाई ‘भ्रमण वर्ष’ का रूपमा मनाउने भएको छ।
प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले २०२४ लाई पर्यटन वर्ष घोषणा गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले जाजरकोट भूकम्प प्रभावितका लागि राहत उपलब्ध गराउने निर्णयसमेत गरेको उनले बताए।
बैठकले संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने, प्रदेशका केही उपसचिवलाई प्रदेश सचिवमा ९अधिकृतस्तर ११औँ तह० बढुवा गरी नियुक्ति र पदस्थापन गर्ने निर्णय गरेको छ।
यस्तै प्रदेश प्रमुखको कार्यालय सबलीकरण गर्ने, उपसभामुखको अष्ट्रेलिया भ्रमणका लागि मनोनयन गरी सरकारी प्रवेशाज्ञाका लागि सिफारिस गर्ने र पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता श्रेष्ठले जानकारी दिए।













