काठमाडौँ – जाजरकोट केन्द्रबिन्दु बनाई भूकम्प गएका वेला नेपाललाई सहयोग गर्न शक्तिराष्ट्रहरू तयार रहेको बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट मर्माहत भएको बताउँदै आवश्यक सहयोग गर्न तत्पर भएको बताएका छन्।
यसैगरी चीनले जाजरकोट भूकम्प प्रभावितहरूका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रूपमा १० करोड मूल्य बराबरको पाल र कम्बल लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेको हो।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले आपत्कालीन सहायताको रूपमा चीनले उपलब्ध गराउने सबै सामग्री एकदुई दिनमा आइपुग्ने जानकारी दिएका छन्। ‘थप सहायता सामग्री बाटोमा छन्,’ उनले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन्।
यसैगरी अमेरिकाले भूकम्पको क्षतिपछिको निर्माणका लागि नेपाललाई आवश्यक सहयोग गर्ने जनाएको छ। भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबरप्रति दुःख व्यक्त गर्दै काठमाडौँस्थित दूतावासमार्फत यस्तो जानकारी दिएको हो।
यसैगरी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। पुटिनले समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार पत्र पठाउँदै प्राकृतिक विपत्तिको दुःखद घटनाबाट पीडितप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ। भूकम्पका कारण हालसम्म १५७ जनाको ज्यान गइसकेको छ भने ठूलो मात्रामा भौतिक क्षति भएको छ।













