लामो अवधिसम्म एक दशक जीवनको प्रवाह सामूहिक सत्सङ्ग, ध्यान अरू संवादमा सुगम हुन्छ अथवा निद्र्वन्द्व, नित्य सत्वस्थ, निर्योगक्षेम, आत्मवान् अवस्थामा निवास विचरण गरे— “निर्माण मोहार्जित सङ्गदोषाः अध्यात्म नित्याः विनिवृत्तः कामाः”को जीवनमुक्तता आउँछ ।
कसैलाई कसैसित मतलव छैन । आफ्नो रुचि, आफ्नो अहङ्कार अरू आफ्नो स्वार्थका अनुसार सबैले महान्– ठूलाठूला शब्द, देशभक्ति, जनकल्याण, मानकल्याण, विश्वकल्याण, कर्तव्य, सेवा, असहाय दीनको सेवाजस्ता शब्दका पर्दामा केवल आफ्ने प्रसन्नता, सन्तुष्टि र प्रतिष्ठाका लागि जीवनमा भागिरहेका छन् ।
जो बुद्धिमान् छ, उसले विभिन्न नाममा चलाइने सबै शोषणका हालत जान्दछ । त्यस कारण ऊ पुराना या नयाँ धर्म या राजनीतिका पक्ष–विपक्षमा नलागी जीवनको सत्य प्राप्त गर्दछ । मनको स्वभाव गतिविधि हेर्न जान्नुप¥यो । सही शिक्षाको अभावमा अवलोकन सम्भव छैन, ज्ञानी गुरुको साथ पाउनु जीवनको सौभाग्य हो ।
आफ्नो आत्मा चिन्न नसकेर, व्यर्थ भ्रमको मान्यताका पछि हामी दगुरिरहेका छौँ । सबै समस्या प्रपञ्च अज्ञान र लोभबाट जन्मेका हुन् ।
कथा, नाटकले हाम्रो मनोरञ्जन त गर्छन्, परन्तु यस प्रक्रियामा मनको ज्ञान र मनको नाश कहिल्यै सम्भव छैन ।
जबसम्म समग्र मनुष्यताको उत्थानको भाव हृदयमा आउँदैन, तबसम्म यो पुरानाको मोह त्याग्न कठिन लाग्छ । म र संसार तथा म र समग्र मनुष्यता तथा मनुष्यता र यावत् सृजन एउटै हो भन्ने बोध आउँदैन त्यतिवेलासम्म जीवनमा दिव्यता र आनन्द आउँदैन ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













