गंगा खड्का
‘मेरा जेठा र माइला छोरा त दायाँबायाँ नै छन् तर कान्छो कता गयो ? यमराजलाई नि जितेर अस्पतालबाट घर फर्किनुमा यी तिनै छोराको बराबर हात छ ।’ रामचन्द्रले हर्षका आँसु टप्प खसाले ।
‘कस्तो कुरा गर्नुभएको बाले ? त्यो कान्छोले कसरी बचायो तपाईंलाई ?’
जेठोको कुरा सकिन नपाउँदै उनको माइलो छोराले सही थाप्यो— ‘त्यही त, बालाई बचाउन पैसाको खोला बगाउने हामी । जस पाउने बेलामा कान्छाको पनि नाम जोडिँदा त काम गर्ने कालू मकै खाने भालु भनेजस्तो भएन र ?’
दुबै छोराको आशङ्कालाई अन्त्य गरिदिने उद्देश्यले रामचन्द्रले गणेश मन्दिरका पण्डितले उपलब्ध गराइदिएका चिटहरु देखाउँदै भने,— ‘ल हेर, तिमीहरूले जसरी धन खर्च गर्न नसके नि भाइले मन कसरी खर्च गरेको छ ?’
जेठा र माइलाले हरेक चिट खोलेर हेरे । जसमा लेखिएको रहेछ ‘भगवान् ! मेरो आयु पनि थपेर बुबालाई नै दीर्घजीवी बनाइदेऊ ।’
साभारः लघुकथा कुनोबाट













