ध्रुवराज थापा
“अब त अति नै भयो, धर्म संस्कृतिका नाममा विकृति फैलाउन त भएन नि !’ हाम्रा सन्ततिले के सिक्छन् ?” बलबहादुर कड्किए । “होइन के भयो ? किन फत्फताउनु भएको ?” श्रीमतीले सोधिन् । “तीज आउनु कहिले–कहिले, महिनौं अघिदेखि दिनदिनै कार्यक्रम चलेका छन् । पार्टी प्यालेस, होटेल, रेष्टुरेन्ट अनि घरघरमा तीजका नाममा भाँडभैलो चलेको छ, यस्तो पनि हुन्छ ?” समाजसेवी बलबहादुरले गुनासो पोखे ।
“के गर्नुहुन्छ, तपाईंमात्र कराएर के हुन्छ र ? चलनै यस्तै आयो ! अँ साच्ची हाम्रो आमा समूहले पनि आजै तीजको एउटा कार्यक्रम राखेको छ म त हिडें है ?” उनी हाँस्दै घरबाट निस्किन । बलबहादुरको पारो झन् तात्यो । उनले यस्तो विकृतिको विरुद्ध आवाज उठाउँदै आएका केही युवा, भद्रभलादमी र महिलाहरु जम्मा पारेर स्थानीय सरकारलाई उजुरी गर्न पालिकामा पुगे ।
पालिकाका मेयर भर्खरै एउटा तीजको कार्यक्रम सकेर आएका र लगत्तैै फेरि अर्को तीजकै कार्यक्रमा निस्कने तयारीमा रहेछन् । एक्कासी दलबल सहित आफनो कार्यकक्षमा प्रवेश गरेका बलबहादुरलाई देखेर मेयर केही झस्किए र सोधे “के भयो बलबहादुरजी ?”
बलबहादुरले भने “हामी तपाईँसँग ’तीज’को विषयमा कुरा गर्न आएका हौँ ।” निस्कने हतारोमा रहेका मेयरले बिचमै कुुरा काट्दै भने “तीजको बारेमा त चिन्तै नगर्नुस् न बलबहादुरजी, हामीले तीज मनाउनको लागि प्रत्येक वडालाई पाँच÷पाँचलाख बजेट पठाइसकेका छौँ ।
साभारः लघुकथा कुनोबाट













