सामाजिक सञ्जालमा बालबालिकाको भिडियो राख्ने क्रम बढ्दै गएको छ । उनीहरुले नराम्रा शब्दले गाली गरेको, आमा–बाबुसँग झगडा गरेको, विद्यालय नजान बहाना बनाएर रोएको जस्ता भिडियो हालिएका छन् ।
यस्ता भिडियोले बालबालिकामा नकारात्मक छाप पर्ने बाल मनोविद्हरु बताउँछन् । कतिपयले चिकित्सकको कपडा लगाइदिएर ‘भविष्यको डाक्टर’ भन्दै सामाजिक सञ्जालमा फोटो पोष्ट गर्ने गर्छन् । झट्ट फोटो हेर्दा त बडो सकारात्मक लाग्छ तर यसले भविष्यमा कस्तो असर पुग्छ होला ? त्यो कुराको विचार गर्नु जरुरी छ ।’
बालबालिकाले सामाजिक सञ्जाल नचलाए पनि चिनेजानेका मानिसले त्यस्ता फोटो हेरेर उनीहरुलाई मौखिक दबाब दिन सक्छन् । कतिपयले जिस्क्याउन थाल्छन् । कलिलो मस्तिष्कले सही र गलत छुट्याउन सक्दैन, त्यसैले उनीहरुलाई तनाव उत्पन्न हुन्छ । ‘फियर एन्जाइटी’को समस्या हुन्छ । यही कारण भविष्यमा ‘डिप्रेसन’मा जाने संभावना हुन्छ ।
सामाजिक सञ्जालमा बालबालिकाको फोटो र भिडियो राख्दा ती सामग्री दुरुपयोग हुने खतरा पनि हुन्छ । फोटोसपबाट त्यस्ता फोटो बिगारी गलत तरिकाले प्रयोग गर्ने खतरा पनि हुन्छ । यसका साथै बालबालिका साइबरक्राइममा पर्ने डर पनि हुनसक्छ । फेसबुक, इन्ष्टाग्राम, टिकटक लगायतमा बालबालिकाको फोटो अभिभावक स्वयले पोष्ट गरिरहेका हुन्छन् । त्यसैको आधारमा आपराधिक मानसिकता भएकाले बालबालिकालाई अपहरण गर्नसक्छन् । यसलाई बुझिने भाषामा ‘डिजिटल किडन्यापिङ’ भनिएको छ ।
बालबालिका कसैले पनि मनोरञ्जनका साधन बनाउनु हुँदैन । उनीहरुबारे सार्वजनिक रुपमा वा सामाजिक सञ्जालमा अनावश्यक सामग्री पोष्ट गर्नु अपराध हो ।













