साउ पाउलो । पूर्वप्रेमिकाले दुर्व्यवहारको आरोप लगाएपछि ब्राजिलले म्यानचेस्टर युनाइटेडका विंगर एन्टोलीलाई राष्ट्रिय टोलीबाट हटाएको छ ।
ब्राजिलियन फुटबल फेडरेसनले २३ वर्षीय खेलाडीलाई टोलीबाट हटाइएको जानकारी दिँदै सार्वजनिक भएका तथ्यहरूलाई अनुसन्धान गर्न आवश्यक रहेको बताएको हो । ब्राजिलियन सञ्चारमाध्यम यूओएलले सोमबार एन्टोनीकी पूर्वप्रेमिकाले लगाएका आरोपहरू सार्वजनिक गरेको थियो । साउ पाउलो र ग्रेटर म्यानचेस्टर प्रहरीले दाबीबारे अनुसन्धान गरिरहेको छ ।
एन्टोनीले भने आफूमाथि लगाइएको आरोपहरू खारेज गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै आफूमाथि लगाइएका सबै आरोप गलत रहेको र आफू निर्दोष रहेको बताए । ‘म प्रहरीको अनुसन्धानप्रति पूर्णरुपमा विश्वस्त रहेको छु र आफू निर्दोष रहेको प्रमाणहरू पेस गर्नेछु,’ उनले भनेका छन् ।
पूर्वप्रेमिका ग्याब्रिएला काभालिनले गत जनवरी १५ मा म्यानचेस्टरको एक होटलमा एन्टोनीले आफूलाई ‘टाउकोले ठक्कर दिएको’ आरोप लगाएकी छन् । उक्त आक्रमणपछि आफ्नो टाउकोमा चोट लागेको र अस्पताल जानुपरेको काभालिनको दाबी छ । त्यस्तै, एन्टोनीले उनको छातीमा मुक्का हान्दा उनको सिलिकन ब्रेस्ट इम्प्लान्टमा क्षति पुगेको र पुनः अपरेसन गर्नुपरेको पनि दाबी गरेकी छन् ।













