काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेदवार गगनकुमार थापाले आजदेखि घरदैलो अभियान थालेका छन् । निर्वाचन आयोगले हिजोदेखि उम्मेदवारलाई औपचारिक रुपमा घरदैलो अभियान थाल्न दिएको निर्देशनलाई पालना गर्दै प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा डडेल्धुराको चुनावी क्षेत्रमा लागेसँगै आजबाट महामन्त्री थापाले जिम्मेवारीपूर्वक आफ्नो चुनावी क्षेत्रमा घरदैलो अभियान थालेका हुन् ।
बिहान चाबहिल गणेश मन्दिरको दर्शन गरी उनले टोलबासीको घरदैलोमा पुग्ने अभियानको थालनी गरेका हुन् । थापाले काठमाडौं महानगरपालिकाको वडा नम्बर ७ स्थित मिर्मिरे टोलबाट घरदैलो अभियान शुरु गरेका छन् ।
भावी प्रधानमन्त्रीको रुपमासमेत आफूलाई उभ्याएका थापाको घरदैलो अभियानमा उत्साहजनकरुपमा युवाहरुले सहभागीता जनाएका छन् । त्यस्तै वृद्धहरु पनि उत्साही पाइएका छन् । सयौंको संख्यामा सहभागी भएका युवाहरुलाई टोलबासीले पनि साथ दिएका छन् ।













