नसोधिकन, नचाहेसम्म ज्ञान, सेवा र भक्ति अमूल्य खजना कसैलाई दिन हुँदैन । सत्यमा जीवन राख्ने समग्र पृथ्वीमा थोरै मान्छे हुन सक्छन् । तीमध्ये अझै थोरैले कुरा बुझ्ने क्षमता राख्छन् । सत्य– दुर्लभ परन्तु अत्यन्त सरल छ । संसारको अशान्ति, भ्रम अरू मूर्खता देख्न सक्ने मनुष्य मात्रै यस बाटोमा आउने साहस गर्छन् । मिथ्या त्याग्न सक्नुप¥यो । सन्तोष–वैराग–विवेक हुनुप¥यो । नम्रता, सजगता, सरलता चाहियो । यो सरलता कति किम्ती र अनमोल छ ? हाम्रै हृदयमा अकथनीय आनन्द छ ।
शिक्षाले, विज्ञानले अरू राजनीतिक, आर्थिक स्वतन्त्रताले अहिले मनुष्यलाई सत्यको बारेमा खोजको ठूलो मौका दिएको छ । जसले यो मौकाको लाभ उठाउँदैन, उसको जीवन खेर गयो ।
दान दिनुपर्छ किनभने पृथ्वी, जल, वायु, आकाश, वृक्षहरू, मातापिता, गुरु, देश, समाज, धर्म सबैले मलाई केही न केही दिएका छन् । कृतज्ञतामा, अहोभावमा, कर्तव्यमा, सज्जनतामा मैले पनि दिनुपर्छ । परन्तु थोरै दिएर धेरै पाइन्छ भन्ने स्वार्थबुद्धि, लोभ बुद्धि र व्यापारिक बुद्धिले दान दिँदा आनन्द हुँदैन साथै परमार्थ पनि सफल हुँदैन, तसर्थ हामीले भावना सुधार्नुप¥यो । कर्म त हामी जे गरिरहेका छौँ, ठीकै छ ।
त्यो मन जो भविष्यमा सबै राम्रो हुन्छ यस्तो सोच राख्छ, त्यो मनले वर्तमानमा तत्क्षणमै सन्तोष र त्याग प्राप्त गर्छ । सत्य क्षणदेखि क्षणमा हुन्छ, सञ्चय केवल स्मृतिको हुन्छ, स्मृतिद्वारा कहिल्यै सत्य प्राप्त हुँदैन । शरीरमा जसले रहँदा जीवन रहन्छ त्यही सत्य हो । क्षणदेखि क्षणमा सत्यको शाश्वत नूतनता प्रकट हुन्छ । शरीरमा जीवन हुँदा कल्पना उठ्छ । मिथ्या भनेको माने हुने नमाने नहुने हो । जो नाम, रूप बदलिँदा बदलिन्छ त्यो मिथ्या हो । स्वार्थ लोभ र डरले परिवर्तन ल्याउन सकिने सबै विचार मान्यता मिथ्या हुन् । सत्य र असत्यको सूक्ष्म विचार गर्नुपर्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













