विशेष गरी गर्मी र बर्खाका बेलामा साङ्लोले नसताएको घर कमै भेटिएला । यस बेला साङ्लाको संख्या ह्वात्तै बढ्छ अनि त कहिलेकाहीँ पकाइरहेको खानोसहित साङ्ला फाल्नुपर्ने हुनसक्छ । अझ अँध्यारा कुनाकाप्चामा लुकेका साङ्लाहरू फुत्तफुत्त निस्केर हैरानै गर्छन् ।
बजारमा पाइने स्प्रेले पनि साङ्लालाई मार्छ तर त्यसमा भएको रसायनले स्वास्थ्यलाई हानि पु¥याउँछ । त्यसैले यहाँ साङ्ला भगाउने र स्वास्थ्यलाई पनि असर नपु¥याउने केही घरेलु उपायहरुको चर्चा गरिएको छ—
– खानाको स्वाद बढाउन प्रयोग हुने तेजपातको गन्ध साङ्लालाई पटक्कै मन पर्दैन । त्यसैले साङ्ला जम्मा हुने ठाउँमा तेजपात पिँधेर राखिदिनाले साङ्लाहरू भाग्छन् । एकपटक राखिएको तेजपातको गन्ध हराएपछि फेरि नयाँ तेजपात राख्नुपर्छ ।
– एउटा कचौरामा बराबर मात्रामा बेकिङ पाउडर र चिनी मिसाउने र त्यसमा पानी हाल्ने । त्यसलाई राम्रोसँग घोलेर साङ्ला भएका ठाउँमा छर्किने । चिनीको मिठासले साङ्लालाई आकर्षित गर्छ र बेकिङ पाउडरले मारिदिन्छ ।
– ल्वाङको गन्ध पनि साङ्लालाई पटक्कै मन पर्दैन । साङ्ला आउने ठाउँमा ल्वाङका कल्लीहरू राखिदिनाले पनि साङ्ला भाग्छन् । यसबाहेक मट्टीतेल, नीम, पुदीना र कफीले पनि साङ्लालाई भगाइदिन्छन् ।













