अङ्गबाट वेन हुन्छ । ठीक हो किनभने अङ्ग भनेको देह देहको सुनिता–मिथ्यासँग सम्पर्क हुँदा देहबुद्धि वेन जन्मिन्छ । त्यस देहबुद्धिलाई मारेपछि सूक्ष्म स्थिर बुद्धि पृथु र निश्चय (अर्चि) उत्पन्न हुन्छन् ।
प्रतीकका पछाडि लाग्नु छायाका पछाडि दगुर्नु हो । केका लागि ती प्रतीक हुन् ? त्यहाँ ध्यान दिनु मनन हो, मनन नभएको जीवनमा मूर्खता–स्वार्थ र पलायन आउँछ ।
(प्रतीक–दशरथ–शरीर, तीन रानी–सत्व, रज तम गुण चार पुत्र–चतुर्पुरुषार्थ (मोक्ष–राम, कर्म–लक्ष्मण, धर्म–भरत, अर्थ–शत्रुघ्न । जनक–प्रज्ञाबुद्धि, सीता–शान्ति– (शान्ति र मोक्षको सम्बन्ध) ।
विश्रवा–आडम्बर–रावण–अभिमान– (अभिमान नमारी शान्ति पाइँदैन शान्ति नभई मोक्ष हुँदैन) यो प्रतीक हो ।
कृष्ण–सरल, सहज ज्ञानोपलब्ध आत्मा, राधा–बुद्धि गोपिनी–बुद्धिका वृत्ति, रानीहरू– अहंका वृत्तिहरू, कौरव–अशुभ विचार, पाण्डव– शुभ विचार यी सबै प्रतीक हुन् ।
तपाईं राम खोज्नुभएको हो कि व्यर्थ ढुङ्गा बटुलेर भारी मात्रै बढाउनमा तम्सिनुभएको हो ? आफै विचार गर्नुहोस्— सत्य–असत्य आफै झर्लङ्ग हुनेछ ।
तिमी के खोजेका छौ, अहङ्कार र शरीरको धूर्ततामा बाँच्न चाहने इच्छा छ भने, मेरो पासमा त्यसका लागि केही छैन । सत्यका पासमा अनुपम रत्न छन् जो हृदयको प्रेमी आत्माको खोजी भगवत्ताको पथिक छ, उसले मात्रै जान्न सक्छ पाउन सक्छ । त्यो उजालोले के फाइदा ? जसले आँखालाई चम्काउँछ, हृदयलाई अन्धकारमा राख्छ ।
साँच्चै तिमीले हृदयको प्रकाश तथा आत्माको ताजगी खोजेका छौ भने त्यो मेरो पासमा छ, हाथ र मनलाई खाली गर, म तिम्रो हाथलाई सत्कर्मले मनलाई परम शान्तिले भरिदिनेछु । मेरो चिन्ता मनुष्यको आत्मा र हृदयका लागि छ । मनुष्यको स्वार्थ, अहङ्कार र विषय भोगसित मेरो केही सम्बन्ध छैन ।
देवीदेवतालाई एउटा पाठो चढाउनु, अक्षता पूmल चढाउनु, खीर पकाएर चढाउनु यसमा मनुष्यको केही गौरव छैन । चढाउनै चाहन्छौ भने आफ्ना कामनाहरू– अभिमानहरू चढाऊ जसद्वारा तिमी सरल, शान्त भएर अनुपम आन्दको जीवन बाँच्न सक्नेछौ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













