काठमाडौं । भेप’मा लुकाएर सुन तस्करीमा संलग्नहरु विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सुन तस्करीमा संलग्नरहेकाविरुद्ध शुक्रबार मुद्धा दर्ता गरिएको जनाएको छ ।
इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर चिनियाँ नागरिकले चीनबाट करोडौंको सुन ल्याएर भारतीय व्यापारीले खरिद गरेको प्रहरी अनुसन्धानले जनाएको छ । गत २०७९ पुस १० मा चीनबाट ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा बाहिरिएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले त्यसबारे ‘संगठित तस्करी’ मुद्दामा अनुसन्धान गरी प्रतिवेदन बुझाएको थियो ।
सोही अपराधिक क्रियाकलपामा संलग्न आरोपित त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का, सिन्धुपाल्चोक घर भएका दिनेश बस्नेत, वेद प्रकाश अग्रवाल, साहेव राव मर्गले र अमृत कार्कीलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेका छन् । सोही प्रकरणमा कास्की घर भएका निर्मल विक पनि थुनामा परेका छन् ।
सुन तस्करी गर्ने व्यक्तीहरुले भेपले भरिएको दुईवटा सुटकेशमा सुन ल्याएका थिए । सो भेपमा भएको एक सय ग्राम सुन प्रहरीले वरामत गरेको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार तस्करी भएको सुन अहिलेसम्म फेला पर्न सकेको छैन् ।













