काठमाडौैं । आठ महिनाअघि गत मंसिरमा दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालको भ्रमणले निकै चर्चा पाएको थियो ।
नेपालमा एमसीसी प्रतिनिधिसभाबाट पारित गर्न हुने वा नहुने भन्ने चर्को बहस भएका वेला उनले काठमाडौँ आएर नेपाल सरकारका उच्च सरकारी प्रतिनिधिहरूसँग भेटघाट गरेका थिए । त्यस समयमा उनको राजनीतिक भेटघाटले निकै चर्चा पाएको थियो । उनी फर्केको केही समयपछि प्रतिनिधिसभाले एमसिसी पारित गरेको थियो ।
नेपालका लागि उनको यो तेस्रो भ्रमण हो । पहिलोपटक उनी २०७८ मंसिरमा नेपाल आएका थिए । त्यसबेला उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्कालगायतका अधिकारीलाई भेटेका थिए । उनी २०७९ साउन १२ गते तीन दिने नेपाल भ्रमणमा आएका थिए ।
उनै सहायक मन्त्री डोनाल्ड एक दिवसीय भ्रमणका लागि शुक्रबार नेपाल आउने भएका छन् । नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थाका प्रतिनिधिसँग पनि भेटघाट गर्ने जनाइएको छ ।
डोनाल्ड केही दिनदेखि भारत, बंगलादेश र श्रीलंकाको भ्रमणमा निस्केका छन् । सोही क्रममा उनी नेपाल आउन लागेका हुन् ।













