काठमाडौं, असार २८ गते । जिल्ला अदालत काठमाडौंले अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा रिहा गरेको छ। पक्राउ परेका मरिचमान श्रेष्ठ ९बल्छी धुर्वे०, राजु पौडेल ९राजु मास्टर० सहितका कलाकारलाई पाँच हजार रुपियाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेबसाइटको प्रचारमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवे र राजुमास्टरसँगै जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो । उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ ।
सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई १० लाख रुपियाँ धरौटी अदालतले मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल भने सम्पर्कविहीन छन्।
जिल्ला सरकारी वकिल कार्यालयले दिनेश खड्का र अनिता धितालले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २ बमोजिम कसुर गरेको भन्दै ६४ करोड ९४ लाख २९ हजार ८२० रुपियाँ बिगो मागदाबी गरेको थियो ।













