इक्वेडरको राजधानी क्विटोमा रहेको विश्वकै सबैभन्दा अग्लो पर्यटकीय केबुलकारमा करिब १० घण्टासम्म फसेका दर्जनौँ मानिसलाई शुक्रबार बिहानै उद्धार गरिएको छ।
क्विटो नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै अग्निनियन्त्रक र प्रहरी सम्मिलित अभियानपछि ७५ जनालाई ‘सुरक्षित र स्वस्थ’ अवस्थामा उद्धार गरिएको जनाएको छ।
विद्युतीय समस्याका कारण प्रणाली अवरुद्ध भएपछि केबुलकारमा रहेका आगन्तुकहरू ‘करिब १० घण्टा’ सम्म फसेका थिए।
करिब चार हजार मिटर ९१३,१२० फिट० को उचाइमा रहेको प्रणालीको सबैभन्दा माथिल्लो टर्मिनलमा फसेका ४८ जनालाई सबैभन्दा पहिले सुरक्षित स्थानमा ल्याइएको विज्ञप्तिमा उल्लेख छ।
त्यसपछि केबुलकारको तारमा रोकिएका अन्य १७ जनालाई केबुलकारबाट नजिकैको सुरक्षित स्थानमा झारिएको थियो भने अन्य १० जना सेवा पुनः सुरु भएपछि भुइँमा आएका थिए।
उक्त केबुलकार दुई टर्मिनलहरूबीच २।५ किलोमिटर ९१।५ माइल० को दूरीमा फैलिएको छ भने सबैभन्दा कम उचाइ समुद्र सतहबाट तीन हजार एक सय मिटरमा रहेको छ।
नगरपालिकाको ट्वीटर अकाउन्टमा रहेको भिडियो फुटेजमा मानिसहरूलाई केबुलकारबाट सुरक्षित स्थानमा राखिएको देखाइएको छ। बालबालिकासहित अन्य व्यक्तिहरूलाई केबुलकारहरू सुरक्षित रूपमा भुइँमा फर्केपछि कम्बल ओढाएर आवश्यक उपचारका लागि नजिकैको अस्पतालतर्फ पठाइएको छ।













