श्रद्धा, समर्पण र शिष्यत्व छैन भने मेरो कुनै पनि व्यक्तिका साथ भित्र या बाहिर कुनै सम्बन्ध हुन सक्तैन । सत्यको दर्शन गर्दा राजा गौरवान्वित हुनेछन् किनकि सत्यले उनीलाई उनैसँग भेट गराउन सक्छन् । सबै मेरो विस्तार हो, सबै मेरो खेल हो । वन, पर्वत, नदी साकार आकाश म हुँ र ती ममा छन् । अभिनय गर्दा अनेक प्रक्रिया हुन्छन् । अनेक पात्रको भिन्नभिन्न अभिनयले एउटा नाटक सिद्ध हुन्छ ।
आलश्यरहितको सजगताले अन्तः करणको स्वभाव प्रकट हुन्छ । अन्तःकरण चार खम्बाले बुद्धि, चित्त, अहं र मनले उभिएको छ । प्रत्येक प्रज्ञा रूप प्रशान्त महासागरमा प्रथम तरङ्ग अहं हो । अहंले आफ्नै भिन्न तरङ्ग स्फुरण ल्याउँछ जो चित्त हो । यो स्फुरणका तीन विभाग छन्— सङ्कल्प, विकल्प, निश्चय । विकल्पलाई सङ्कल्पमा, सङ्कल्पलाई निश्चयमा, निश्चयलाई एकान्तको शान्तिमा हवन गरेर परम–आत्माको विश्राम (राख्नु)मा रहनु सत्यको शिक्षा हो ।
म जन्मेको मलाई थाहा छैन ? आमाले या अरू कसैले एक मिथ्या सूचना दिए— म जन्मेको थिएँ । अब जसको जन्म भयो त्यो त अवश्य मर्नेछ ।
प्राण र चेतनाको सम्बन्ध छ जबसम्म प्राण छ तबसम्म चेतना छ । चेतना र समयको सम्बन्ध छ अथवा यसो भन्न उचित छ— प्राणले चेतनालाई जीवन्तता दिन्छ अनि चेतनाले समयको प्रवाह चलाउँछ । शरीरविना चेतनाको अनुभव सम्भव छैन । शरीर नआइकन, म छु, भन्ने ज्ञान आउन सम्भव छैन । शरीर रजवीर्यबाट आयो, रजवीर्य अन्न, फल, घाँस, पातबाट आयो, सबै पञ्चतत्त्वबाट आए । स्थूल र सूक्ष्मको रूपान्तरण बाहेक त्यहाँ अरू के छ र ?
‘म हुँ’ भन्ने चेतना कसरी बन्यो ? यो जान्नु ध्यान हो, योग हो, ज्ञान हो । अरू सबै कथा, वार्ता, कल्पनाका भूत मात्रै हुन् । जस्तै— कायर व्यक्ति साँझ हुनेबित्तिकै डराउन थाल्छ । मूढा, ठुटाहरू भूतप्रेत देखिन्छन् ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













