नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेका छन्। जुन २८ र २९ तारिखमा पाण्डेले रुसमा रहेको एलब्रस हिमालको २ पटक सफल आरोहण गरेका हुन्।
सातै महादेशका उच्च हिमशिखरहरूको आरोहण गरी सेभेन समिट पूरा गरी नयाँ कीर्तिमान कायम गर्ने अभियानमा रहेका पाण्डे जुन २१ तारिखमा रुसतर्फ प्रस्थान गरेका थिए। एलब्रस हिमाल युरोपको सबैभन्दा अग्लो चुचुरो हो।
चतुर ट्रेक तथा एक्सपिडिसनले आयोजना गरेको अभियानमा पाण्डेको गाइड आरोही चतुर तामाङ रहेका थिए। जुन २९ को बिहान ९ः०० बजे पाण्डेले एलब्रुस ईस्टको पनि सफल आरोहण गरेका थिए। पाण्डेले एलब्रुसको शिखरमा चन्द्रसूर्य अंकित नेपाली झण्डा फहराउनुका साथै नेपाल स्काउट तथा अन्य संघसंस्थाको झण्डा समेत फहराएका थिए।
हिमाल आरोहणमा सातै महादेशका उच्च हिमशिखरहरूको आरोहणलाई विशेष मानिन्छ, जसलाई सेभेन समिट भनिन्छ। हजारौं पर्वतारोहीहरू मध्येबाट हालसम्म ३५० जति पर्वतारोहीले मात्रै यो सफलता आत्मसाथ गर्न सकेका छन्। सबैभन्दा कम समयमा सेभेन समिट सम्पन्न गरी विश्व कीर्तिमान कायम गर्ने अभियानमा पर्वतारोही पाण्डे रहेका छन्।
युरोपको हिमाल आरोहणपश्चात यसै अभियान अन्तर्गत अफ्रिकाको तान्जानियामा रहेको किलिमान्जारो हिमाल आरोहणका लागि प्रस्थान गर्ने पाण्डेले बताएका छन्।
नेपाली युवा आरोही पाण्डेले सगरमाथा सहित मनास्लु, आमादब्लम र आइल्याण्ड पिक हिमालको समेत आरोहण गरिसकेका छन्। सन् २०१६ देखि आरोहण शुरू गरेका पाण्डेले २०१८ मा सगरमाथाको आरोहण गरेपश्चात नियमित हिमाल चढिरहेका छन्। उनले २०१९ मा किलर माउन्टेन भनेर चिनिने मनास्लु हिमालको आरोहण गरेका थिए।
नेपाल स्काउटका सदस्य समेत रहेका पाण्डेले विश्व स्काउट अभियानका संस्थापक बेडेन पावेलको नाउँमा रहेको बेडेन पावेल स्काउट पिक २ पटक आरोहण गरिसकेका छन् भने विदेशी स्काउटहरूलाई समेत हिमालको सफल आरोहण गराउन सफल रहेका छन्।













