जातिपाति, छुआछुतजस्ता मूढहरूका मनमाफिक धर्म परिकल्पनाका जङ्गल चलिरहेकै छन् । मन्दिर, तीर्थ, नदीतटमा गएर पाप नाश हुने, पुराण लगाए स्वर्ग पाइनेजस्ता कार्यको महत्व चलेकै छन् । गरीबको सेवा गर्ने, परोपकार गर्ने, इमान्दारी पूर्ण जीवन बाँच्ने नबाँच्ने, नचोर्ने, सामानहरूमा मिलावट नगर्ने, वृक्षरोपण नगरी वृक्ष नकाट्ने, पक्षीहरूलाई नमार्ने, देवीदेवताका नाममा जीवहरूको हत्या नगर्ने भन्ने मानवीय गुणहरूको न कहीँ प्रचार छ, न कसैको त्यता ध्यान गएको छ । पैसा कमाउनु, अर्कालाई छल्नु, आफ्नो स्वार्थको मात्रै पूर्ति चाहनु, हर प्रकारको व्यवहारमा दिखावटी गर्नु, यो नै हाम्रो जीवनको लक्ष्य हुन पुगेको छ ।
सद्गुण, प्रसन्नता र प्रशान्ति एक साथ रहन्छन् । यिनीहरू अलग रहन सक्तैनन् । बाहिर व्यवहारमा समन्वय एवं अन्तःकरणमा प्रकाशित बुद्धि सन्तत्वको प्रमाण हो । शरीरका भोगमा आबद्ध मन तमद्वारा प्रभावित छ । स्वर्ग नर्कको द्वैतमा भौँतारिने मन रजले व्याप्त छ । लोक परलोकको स्थायित्व खोज्ने मन संस्कार सत्मा छ । नैरपेक्ष, निष्कामलाई निरालम्बमा रहने मनलाई दिगम्बर, अहं र अवधूत पदमा स्थित छ भनिन्छ । यी सबै शब्दको जाल बुझे जालीलाई हटाएपछि शुद्ध जीवनबाहेक कहीँ केही छैन ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













