काठमाडौँ । बेलायतमा कन्जरभेटिभ पार्टीकी अर्की सांसद शेरिल मुरेले प्रधानमन्त्री लिज ट्रसको राजीनामाको लागि सार्वजनिक रूपमा आह्वान गरेकी छन् ।
उनले लिज ट्रसको हैसियत अब प्रधानमन्त्री रहनुपर्ने अवस्था नरहेको बताएकी छन् । शेरिल मुर्रे एक समूहमा सामेल भएकी छन् जसले लिज ट्रसको राजीनामाको लागि केही समयदेखि आह्वान गरिरहेको छ । अहिलेसम्म १३ भन्दा बढी कन्जरभेटिभका सांसदहरुले सार्बजनिक रुपमा प्रधानमन्त्री ट्रसको राजीनामा मागिसकेको बिबिसीले उल्लेख गरेको छ ।
उनले १९२२ समितिका अध्यक्ष ग्राहम ब्राडीलाई पत्र पठाएकी छन् । पत्रमा लिज ट्रसको स्थिति अस्थिर भएको र उनको प्रधानमन्त्रीमा विश्वास नभएको उल्लेख छ । यसैबीच एक सांसद नाडीन डोरिजले ट्रसले पद छोडेमा बोरिस जोनसन पुन नेतृत्वमा आउनुपर्ने माग गरेकी छन् । उनले सांसदहरुले बोरिस जोनसन फेरी नेतृत्वमा आउनुपर्ने माग गर्नुपर्ने बताएकी छन् ।
बेलायती गृहमन्त्री सुएला ब्रेभरम्यानले बुधबार राति राजीनामा दिएपछि ट्रसलाई आफ्नो पद छोड्न दबाब बढेको छ । उनको स्थानमा पूर्व यातायातमन्त्री ग्रान्ट साप्सलाई गृहमन्त्री बनाइएको छ । भारतीय मूलको सुएला ब्रेभरम्यानले सेप्टेम्बरमा नै यो पद ग्रहण गरेकी थिइन् ।
उनले राजीनामाको कारण नयाँ सरकारको कार्यशैलीमा उल्लेख गर्दै यो सरकार कुन दिशामा जाँदैछ भन्ने चिन्तामा रहेको बताएकी थिइन् । यस अघि प्रधानमन्त्री ट्रसले आफ्नो अर्थमन्त्री बदलेकी थिइन् ।













