काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य भएको बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने , ‘मैले विगतदेखि कहिले बिद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुबिकरण र प्रक्रियाको निम्ति सामाजिक रुपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो ।’
उनले हरदम आफ्नो बिचार, सोच र शैलीलाई सृजनात्मक ढंगले विकास गर्ने व्यक्तित्वको आफूले सँधै उच्च मूल्याङ्कन गर्ने गरेको बताए । ‘मानव समाजको विकास पनि नवीन सोचको खोजीको क्रममा भएको हो ।
मानव र अरु प्राणी बीचको अन्तर पनि विचारको निरन्तर विकासको प्रक्रियासँग सम्बन्धित छ,’ प्रधानमन्त्रीले भने , ‘अहिले २१ औं शताब्दीमा विज्ञानको विकाससँग हामीले हाम्रा सोचहरुलाई अझ नवीन र तीब्रताका साथ बनाउँदै लैजाने र त्यसले आफ्नो कर्मलाई अझ प्रभावकारी बनाउँदै लैजान केन्द्रित हुनु पर्दछ । मलाई विश्वास छ, तपाईहरुले यो प्रतिभा डबली कार्यक्रमबाट यस्तो सृजनात्मक नवीन सोचलाई प्रोत्साहित गर्न आ–आफ्नो ठाउँबाट चिन्तनमनन गरिराख्नुभएको छ ।’
प्रधानमन्त्रीले वर्तमान सरकारले सुशासनलाई जोड दिएको उल्लेख गर्दै सुशासन भनेको आफ्नै सोच र शैलीमा सुधार गर्दै आत्मसमिक्षा गर्ने विधि भएको बताए । उनले भने , ‘त्यसको लागि आफैंभित्र सबैभन्दा पहिला सुशासनको शुरुवात गर्नुपर्दछ ।’
उनले नेपालमा कर्मचारी भित्र क्षमता, प्रतिभा र अनुभव सबै दृष्टिकोणले सक्षम कर्मचारीतन्त्र रहेको विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले स्थायी सरकारको रुपमा चिनिने कर्मचारीतन्त्रको सेवा प्रवाहको प्रभावकारिताले सरकारको मूल नेतृत्वको सफलता र असफलतालाई पनि प्रत्यक्ष रुपले प्रभावित हुने बताए ।
प्रधानमन्त्री प्रचण्डले राख्नुभएको मन्तव्यको अंशः–
‘मैले यो पटक तपाईहरुको अगाडि केही कुरा गर्दै आएको थिएँ । सुशासन, सामाजिक न्याय र समृद्धिको निम्ति भनेर । यो बीचमा हामीले गरेका प्रयासहरु ती आफ्नो ठाउँमा समिक्षा गर्न लायक पनि छन् । म कर्मचारीतन्त्र भित्रबाट पनि नवीन सोचका साथ सृजनात्मक ढंगले आफ्नो काम अझ प्रभावकारी जनसेवासँग सम्बन्धित कामलाई अझ परिणाममुखी कसरी बनाउने भनेर सोच अगाडि ल्याउनेलाई विशेष धन्यवाद भन्न चाहन्छु ।
जुनसुकै क्षेत्रको पनि विकास र प्रगति भनेको विचारबाट नै हुने हो । सही, सकारात्मक र सृजनात्मक बिचारले नै कुनै राजनीतिक प्रणाली र प्रक्रिया वा अन्य कुनै पनि क्षेत्रको विकासमा निर्णायक र महत्वपूर्ण भूमिका खेल्छ गर्दछ । कर्मचारीतन्त्र भित्र पनि नयाँ र सृजनात्मक सोच ल्याउने र अझ प्रभावकारी र परिणाममुखी बनाउनको लागि सोच्नेहरुलाई म उच्च प्राथमिकता दिन्छु ।
हामी कहाँ जुन गतिमा सुशासनको प्रत्याभूति जनताले गर्नेगरि परिणाम दिनुपर्ने हो त्यस्तो त्यति हुनसकेको छैन । हामीसँग त्यो मानवीय शक्ति, क्षमता र अनुभव भएर पनि सिंगै समाजमा कहिले कहीँ विभिन्न खालका गलत विचार प्रवृतिहरु देखा पर्ने र हावी हुने हुन्छ । र, त्यसको असर सबैतिर पर्ने गरेको छ ।
नीतिहरुको राजा भएको हुनाले राजनीति भन्ने गरिन्छ । सबै नीतिहरुको नेता हो राजनीति । राजनीति धमिलियो भने कुनै न कुनै त्यसको असर सबैतिर पर्न जान्छ । त्यसको सफाइको सुरुवात पनि राजनीतिबाटै गर्नुपर्दछ ।’













