काठमाडौं । सत्ता घटककै एक दल एकीकृत समाजवादी सरकारसँग असन्तुष्ट बनेको छ । बजेट ल्याउँदा गोरखा, डडेल्धुरा र नुवाकोटमा मात्र पारिएको भन्दै एकीकृत समाजवादीले बरु सरकार छाड्ने, तर बजेट पारित हुन नदिने चेतावनी दिएको छ ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले बजेटमा विभेद गरेको भन्दै आफ्नो पार्टीले यथास्थितिमा पास गर्न नदिने चेतावनी दिएका हुन् । त्यसका लागि सरकार छाड्नुपरे आफ्नो पार्टी तयार रहेको उनको भनाइ छ ।
शुक्रबार पार्टीनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पाण्डेले भौतिक पूर्वाधारको पाँच अर्ब बजेटको आधा रकम डडेलधुरा, गोरखा र नुवाकोट लगिएको भन्दै आपत्ति जनाए । ‘भौतिक पूर्वाधारमा पाँच अर्ब बढी पैसा गयो रे ।
त्यसमा ११० करोड डडेलधुरामा, ५५ करोड गोरखामा र ७०–७५ करोड नुवाकोटमा । २३२ करोड चाहिँ तीनवटा जिल्लामा, बाँकी २६८ करोड चाहिँ ७४ जिल्लामा यो टाइपले बजेट विनियोजन भयो । आजका दिनमा यस्तो अन्याय हुनुहुँदैन । हामी कडाइका साथ भनिरहेका छौं । यही अवस्थामा यथास्थितिमा यो बजेट पास हुँदैन । सरकार छाड्नुपरे परोस् अन्याय सहँदैनौं । लुरुलुरु बसिरहने हामी होइन,’ पाण्डेले भने ।
अहिले भौतिक पूर्वाधार मन्त्रालय एकीकृत समाजवादीकै भागमा परेको छ । सो पार्टीका प्रकाश ज्वाला मन्त्री छन् । सोही मन्त्रालयअन्तर्गत विनियोजन भएको बजेटबारे पार्टीका उपाध्यक्ष पाण्डेले आपत्ति जनाएका हुन् । बिहीबार विदेशबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि गोरखा, डडेल्धुरा र नुवाकोटमा बढी बजेट छुट्याएको आफूले सुनेको बताएका थिए ।
पाण्डेले अहिलेको अवस्था र जनता २०४८ सालका जस्ता नभएको बुझ्न प्रधानमन्त्री, अर्थमन्त्री र कांग्रेस सभापतिलाई चेतावनी दिए । ‘सरकार छाड्नु परे परोस् यो अन्याय सहनु हुँदैन’, उनले भने ।












