काठमाडौं । अर्थमन्त्री डा।प्रकाशशरण महतले इमानदार भएका काम गर्न कति कठिन हुँदो रहेछ र त्यसरी काम गर्दा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ भनेर आफ्नो इमान्दारितामाथि हिलो छ्याप्ने काम भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले करको दर हेरफेरमा बिचौलिया र अनधिकृत व्यक्तिको प्रवेश भएको भन्दै प्रश्न उठाएपछि जवाफ दिँदै उनले योजनाबद्ध रूपमा प्रहार भइरहेको र त्यसबाट आफू विचलित नभएको उल्लेख गरे । ‘म अर्थमन्त्री हुनेवित्तिकै कुनै पनि प्रभावबाट मुक्त भएर बजेट बनाउँछु भनेर कसम खाएको थिएँ ।
जेठ १४ गते राति के भयो ? को अनधिकृत व्यक्ति आयो भनेर एउटा पत्रिकाले समाचार लेख्यो । त्यसैलाई सांसदहरुले आवाज उठाउनुभएको छ । एउटा पत्रिकाले पटक पटक समाचार लेख्छ त्यसलाई हामी सत्य ठहर गर्छौं । तर हामी काम गर्न आएको मान्छेको विश्वास गर्दैनौं,’ महतले भने ।
उनले बजेट निर्माण गर्ने अख्तियार प्राप्त पदाधिकारीबाहेक कसैलाई पनि प्रवेश नदिइएको स्पष्ट पारे । ‘आर्थिक विधेयक तर्जुमा गर्ने व्यवस्था छ । यिनै पदाधिकारी बसेर हामीले करको दर हेरफेर गरेका थियौं । राजस्व परामर्श समितिले दिएका सुझाव प्रतिवेदनका आधारमा काम गरेका छौं । राजस्व सचिव र अर्थसचिवले प्रमाणित गर्ने व्यवस्था छ । जेठ १४ गते राति प्रमाणीकरण गरेपछि १५ गते बिहान छपाएर आउँछ ।
फोन अफ गरेर काम गरेका थियौं । निर्णय भइसकेपछि टाइप गर्न, इन्ट्री गर्न सहयोगी चाहिन्छ । म आउनुभन्दा अघि नै रामकृष्ण श्रेष्ठ नियुक्त भएर आउनुभएको रहेछ,’ उनले भने, ‘३० वर्षदेखि यसमा उहाँले काम गर्नुहुँदो रहेछ । आधिकारिक करको दर हेरफेरमा उहाँले आदेशप्राप्त कर्मचारीले भनेर गर्नुहुने रहेछ । पहिलेका अर्थमन्त्रीले नियुक्ति हुनुभएको रहेछ । कर्मचारीको सहयोगीको भूमिकामा उहाँले काम गर्नुभएको रहेछ । कसैले लेखिदियो ऊ चाहिँ सत्य भयो । हामीले लेखेको असत्य भयो ।’
उनले बजेट निर्माण गर्ने बेला कुनै चलखेल नभएको र बिचौलियालाई छेउ पर्न पनि नदिएको स्पष्ट पारे । ‘मेरो इमान्दारितामा एक इन्च रौं पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरु पछि लागेका छन् । भएको यही हो । यसमा कुनै आशंका गर्नुपर्ने छैन,’ उनले भने, ‘आयव्ययमाथि छलफल हुन्छ । एक एक प्रश्नको जवाफ दिन्छु भनेर म तयारी थिएँ । अवश्य पनि एउटै व्यक्तिमा भर पर्नुपर्ने थिएन ।
मन्त्रालयले विश्वास गरेको व्यक्ति रामकृष्ण श्रेष्ठले सहयोग गरेको हो । यसमा कुनै द्विविधा लिनुपर्ने छैन । कुनै चलखेल भएको छैन । एफएनसीसीआई, सीएनआईले सुझाव दिएका छन् । उनीहरुको माग पनि सम्बोधन गरेका छौं । करको विषयवस्तुलाई वैज्ञानिक बनाउने काम गरेका छौं । भ्याट कमजोर हुँदै गएको थियो । त्यसलाई बलियो बनाउँदै गएका छौं ।’













