काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अमेरिकाले पहिलोपल्ट मुख खोलेको छ । उसले ‘नेपालमा यसबारे भइरहेका अनुसन्धानबाट वास्तविकता चाँडो निर्क्योल हुने’ आशा पनि व्यक्त गरेको छ।
नेपालबाट नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रकरणमा पूर्वउपप्रधानमन्त्री र पूर्वगृहमन्त्रीसहित ३० जनाविरुद्ध मुद्दा चलाएको छ। मुद्दा चलेको झन्डै एक सातापछि अमेरिकी दूतावासले घटना चिन्ताजनक भएको प्रतिक्रिया दिएको छ ।
‘कुनै पनि भ्रष्टाचारको आरोपजस्तै अहिले नेपालमा चर्चामा आएको शरणार्थीसम्बन्धी दस्तावेजमा अवैध अनियमितता एवं भ्रष्टाचारका आरोपहरू चिन्ताजनक छन् । नेपाली अधिकारीहरूले ती आरोपको अनुसन्धान गरिरहेको हामीले बुझेका छौँ र हामी आशा गर्छौं उनीहरूले कानुनबमोजिम अनि पारदर्शिता तथा जबाफदेहीप्रति नेपाल सरकारको प्रतिबद्धताअनुरूप वास्तविकता चाँडै निर्क्योल गर्ने छन्, दोषीहरूलाई जवाफदेह बनाउने छन्, अनि भविष्यमा भ्रष्टाचारका मामिला निरुत्साहित गर्ने छन्,’ दूतावासकी प्रवक्ता एना रिचेएलनको भनाइ उल्लेख गर्दै बीबीसी न्युज नेपालीमा उल्लेख छ ।
दूतावासले दिएको प्रतिक्रियामा अमेरिकाले भ्रष्टाचार निर्मूल पार्ने नेपाल सरकार तथा नागरिक समाजका प्रयासलाई निरन्तर समर्थन गर्दै आएको उल्लेख छ।अमेरिकाले सन् २००७ र २०१६ का बीच नेपालमा बसोबास गरिरहेका दशौँ हजार भुटानी शरणार्थीलाई एक पुनर्वास कार्यक्रम अन्तर्गत आफ्नो देश लगेको थियो ।
दूतावासले नेपालमा हालको भ्रष्टाचारसम्बन्धी आरोप एवं शरणार्थी दस्तावेजमा अवैध चलखेलको विषय पारदर्शिता र जबाफदेहीमा प्रतिबद्ध नेपालजस्तो एउटा सार्वभौम लोकतान्त्रिक देशको सरकारले अनुसन्धान गर्ने मामिला भएको पनि जनाएको छ।












