गुरुको कार्य के हो ?
गुरुतत्व परमात्माको जीवन स्वरूप हो । गुरु भनेको जीवन्त परमात्मा र परमात्मा भनेको अजीवन्त गुरु हुन् ।
अजीवन्त भनेको शरीर नभएको भनेको हो । जीवन्त भनेको शरीरमा प्रकट हुनु भनेको हो । केवल लोभ र स्वार्थले गुरु बनाउनहुन्न ।
लोक– परलोकको सुखको इच्छा लोभ हो । धन होस्, शरीरमा सुख शान्ति होस् कामधन्दा राम्ररी चलोस् । संसारको यात्रामा विजय होस् नराम्रा ग्रहहरू राम्रा काम गरून्, विरामी नहुनु परोस् । नरक नजानु परोस् आदि चिन्तनबाट गुरु बनाउनु वा सोच्नु स्वार्थ हो । लोभी र स्वार्थीमा प्रेम रहन सक्तैन । प्रेम भन्ने तŒवमा सर्वस्व त्याग हुन्छ । सर्वस्व त्याग लोभीले गर्न सक्तैन । स्वार्थीले श्रद्धा गर्न सक्तैन । श्रद्धा भनेको अनुपम र दिव्य वस्तु हो । मेरा गुरुदेव हरिस्वरूप भगवान् नै हुनुहुन्छ । मेरा गुरुभन्दा माथि र पर कोही पनि छैन भन्ने भावना गर्नु श्रद्धा हो । म गुरुको अंश हुँ, आत्मा हुँ भन्ने निष्ठा दिव्यप्रेम हो । प्रेमबाट श्रद्धा तथा श्रद्धाद्वारा ज्ञानको जन्म हुन्छ, ज्ञानबाट यथार्थ सेवा अपनत्व र आत्मा परमात्मा एकताको बोध भएर यसै शरीरमा स्वतन्त्रता, मोक्ष महाभाव आदिको उपलब्धि हुन्छ ।
जस्तै आमा नभई शरीरको जन्म हुँदैन, त्यस्तै गुरु नभै आत्मज्ञानको जन्म हुँदैन । पिताको स्थान र परमात्माको स्थिति एउटै हो, परन्तु आमा र गुरु नभई हुर्किन सकिँदैन, यो सम्झनु नै साँचो शिष्यत्व हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट












