काठमाडौँ – दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग ९आईपीएल० को प्लेअफ दौडबाट बाहिरिएको छ।
शनिबार राति पञ्जाबसँग ३१ रनले हार बेहोरेपछि दिल्ली यस सिजनमा प्लेअफको दौडबाट बाहिरिने पहिलो टिम बनेको हो।
पञ्जाबले दिएको १६८ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाएको थियो।
दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा टस जितेर पहिला ब्याटिङ्ग गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको थियो।
यस सिजनमा दिल्लीको यो आठौँ हार हो। दिल्लीको १२ खेलबाट ८ अंक छ र अन्तिम स्थानमा छ । दिल्लीले बाँकी दुई खेल जिते पनि हाल शीर्ष चारमा रहेको टिमलाई भेट्ने छैन । जसका कारण दिल्लीको शीर्ष चारमा पर्ने सम्भावना सकिएको हो ।
प्रभशिमरन सिंहको शतक र हरप्रित ब्रारको ४ विकेट प्रदर्शनमा पञ्जाबले सिजनको छैटौं जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । १२ खेलबाट १२ अंक जोडेको पञ्जाब छैटौं स्थानमा छ । पञ्जाबले बाँकी दुई खेल जितेमा प्लेअफमा पुग्नेछ।












