सबै भौतिक, दैहिक सम्बन्धमा सुखसुविधा र अज्ञानको प्रभाव रहन्छ तसर्थ त्यहाँ प्रज्ञा, स्थिरता, समता र जीवनमुक्तिको यथार्थ प्रकाशित हुन गाह्रो पर्छ ।
विद्यार्थीका अनुकूल अध्यापक भए भने विद्याको प्रकाश हुँदैन, विद्यार्थीले अध्यापकका अनुकूल रहनुपर्छ । शिष्यका अधीन गुरु रहन्छन् भने ज्ञानको प्रकाश हुँदैन, केवल, सुविधा र आवश्यकताको पूर्ति हुन्छ, अज्ञान लोभ मोह र स्वार्थ आउँछन् । तथ्य र यथार्थतः शिष्यले गुरुका अधीन हुनु सार्थक हो ।
संसारमा स्वार्थ अधिक मात्रामा छन्, त्यस कारणले भनाभन, कलह, असजकता सबैतर्पm देख्न पाइन्छ ।
बानी बिगारेर सपार्न धेरै गाह्रो पर्छ सौभाग्य भए बानी नबिग्रिन दिनु राम्रो हो ।
धेरै चिताउने, निन्दास्तुति, जिद्दी, एकहोरो सोच्ने गर्ने आवेश आउने, भित्र क्रोधित हुने नशा, धूम्रपान, व्यर्थसँग बानी बिग्रिनुका भित्र पर्छन् ।
शान्त, एकान्तको वातावरण छ भने अरू कुरामा ध्यान दिनु व्यर्थता हो । सार्थकता सित मात्रै सजगता राख्नुपर्छ, अरू सबैको उपेक्षा गर्न र बिर्सिन सक्छु भन्ने क्षमता आउनुपर्छ ।
सबै कुराको, पक्षको अनुकूलता मनुष्य जन्म अथवा सृजनमा सम्भव छैन । सृजनबाट मुक्त हुन सकेपछि मात्रै सुख र स्वर्गको थाहा हुन्छ ।
साभार ः ‘विचारप्रवाह’ पुस्तकबाट













