स्वास्थ्य र सफलता एक अर्काका परिपूरक हुन् । स्वास्थ्य र सफलता एक सिक्काका दुई पाटा हुन् । एक व्यक्ति नभई सफलता हासिल गर्न सक्दैन र सफलता हासिल गर्नुको कुनै अर्थ पनि रहँदैन । असफल व्यक्ति पनि स्वास्थ्य लाभ गर्न सक्दछ तर रोगी व्यक्ति स्वस्थ हुन कठिन छ ।
जीवन धेरै लामो छ । हामीले सफल जीवन जीउन अनेक खुड्किला पार गर्नुपर्दछ । ती जीवनका खुड्किला सरलसँग पार गर्न लक्ष्य निर्धारण गर्नुपर्दछ । त्यस लक्ष्यमा पुग्नको निमित्त लक्ष्यलाई ध्यान दिनुपर्दछ । यदि आफ्नो लक्ष्यलाई ध्यान दिएन भने लक्ष्यमा पुग्न सक्दैनौँ । जीवनको अनेकौँ लक्ष्य र उद्देश्यलाई ध्यान दिनु भनेको मुश्किलको काम हो । तर यो एउटा कला हो जसलाई सिक्न सकिन्छ । किनकि संसार रंगमञ्च र मानिस कलाकार हो । त्यो कलाकारितालाई रंगमञ्चमा सफलतापूर्वक मञ्चन गर्नसक्नु नै खास खुबीको कुरा हो ।
प्राचीनकालमा द्रोणाचार्य नामक ऋषिले आफ्ना निपुण चेलाहरुलाई तीर चलाउन सिकाइरहेका थिए । लक्ष्यको रुपमा रुखमा काठको चरा बनाएर राखेका थिए । अनि चेलाहरुलाई तीर चलाउन (निसाना लगाउन) भनेका थिए । पालै पालो चेलाहरुलाई सोधिरहे— तिमीहरुले रुखमा के देखिरहेका छौ ? चेलाहरुबाट लक्ष्यभेदन गर्ने उत्तर आएन । अन्त्यमा अर्जुन नामका चेलाले उत्तर दिएछन् ‘मैले त रुखको चराको आँखा देखिरहेको छु’ ऋषिलाई उत्तर ठीक लाग्यो ।
तब वाण चलाउन आदेश दिए । तीर चराको आँखामा लाग्यो उनले आफ्नो लक्ष्यभेदन गर्ने चेलालाई स्याबासी दिए । हामीले आफ्नो लक्ष्यमा ध्यान पु¥याउन सकेनौँ भने त्यो लक्ष्यलाई पूरा गर्न पनि सक्दैनौँ । हाम्रा अनेकौँ लक्ष्य र उद्देश्य हुन्छन् त्यसलाई विशेष ध्यान दिनुपर्दछ । समुद्र तर्ने मानिसले किनारा तोड्ने कोसिस गर्नुपर्दछ नत्र ऊ बीचमा हराउँदछ । लक्ष्यमा पुग्न योजनाको अति आवश्यक छ । योजनाको निमित्त लक्ष्य र उद्देश्यको आवश्यकता पर्दछ ।
साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट












