जङ्कफूड र सोडा ड्रिङ्सको लगातार सेवन गर्नाले एकदिन त्यस्तो स्थिति आउन सक्छ कि तपाईंको शरीरमा इन्सुलिनको निष्कासन घट्न गई टाइप–२ मधुमेह हुनसक्ने खतरा रहन्छ ।
टाइप–२ मधुमेह हुनु भनेको मुटुरोगको घण्टी बज्नु हो, मृगौला खराब हुने सम्भावना चार दोब्बर बढेर जानु हो ।
फास्टफुड तथा जङ्कफुडमा मिश्रित स्याचुरेटेड फ्याटको लगातार सेवनले रगतमा खराब कोलेस्ट्रोलको स्तर बढाएरै छोड्छ । खराब कोलेस्ट्रोल बढ्नु भनेको मुटुको समग्र स्वास्थ्यमा धक्का पुग्नु हो ।
फ्याँक्नयोग्य (जङ्कफुड) खानेकुरामा मिश्रित नूनको अधिक मात्रा शरीरमा थुप्रिँदै गएपछि एक दिन त्यसले उच्च रक्तचाप निम्त्याउनु स्वाभाविक कुरा हो ।
जङ्कफुड तथा फास्टफुड मात्रै खान पल्किएका केटाकेटी यसकै सेवनले पेट भर्न चाहन्छन् जसले गर्दा हरियो सागसब्जी, ताजा फलफूल र अन्य प्राकृतिक खानेकुराप्रति रुचि देखाउँदैनन् । यी अत्यावश्यक खाद्यवस्तुहरु खानाको घटक बनी शरीरभित्र नपुगेपछि शरीरलाई अत्यावश्यक आइरन, म्याग्नेसियम, क्याल्सियमजस्ता अपरिहार्य तत्वहरुको अभाव बढ्छ । यसको परिणाममा त्यस्ता केटाकेटी दुर्बल, सुस्त, शिथिल तथा अल्छी बन्दै जान्छन् ।
अनेकौँ शोधअनुसन्धानहरुका ताजा नतिजाअनुसार जङ्कफुड या फास्टफुड पचाउन नसक्दा त्यसले हड्ड र दाँतहरुबाट थप क्याल्सियम सापटीको रुपमा लिनुपर्ने हुन्छ । लामो समयसम्म यस्तो स्थिति रहिरहेको खण्डमा एक दिन दाँँत तथा हड्डी नै क्षीण हुँदै जाने खतरा रहन्छ ।
जङ्कफुड र फास्टफुडको बानी परेपछि त्यसले शरीरमा आराम गर्ने र अल्छी भएर पल्टिरहन मन पराउने वृत्ति विकसित गराउँछ । खेल्ने, दौडने, उफ्रने र क्रियाशील हुनुपर्ने उमेरमै केटाकेटीलाई निष्क्रिय बन्न बाध्य बनाउँछ ।
जङ्कफुड खानेकुरा होइन, हाम्रा बालबालिकाहरुमाथि खाद्यउद्योगहरुले गरेको वैधानिक व्यापार र मान्यताप्राप्त रासायनिक प्रयोग मात्र हो ।
साभार : ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट












