पोखरा महानगर पालिका वडा नम्बर १८ मा पुन मतगणना गर्न उच्च अदालत कास्कीले आदेश दिएको छ । उच्च अदालत पोखराले मंगलबार यस्तो फैसला गरेको हो । अदालतले पुन मतगणना गर्न मात्र फैसला गरेको छैन, मत गणना गर्ने दिन पनि तोकिदिएको छ ।
मत गणनामा गडबडी गरिएको भन्दै वडाध्यक्षका उम्मेदवार पुष्कल थापाले उच्च अदालत पोखरामा पुन मतगणनाको माग गर्दै निवेदन दिएका थिए । सोही निवेदन उपर फैसला गर्दै उच्च अदालत पोखराका कायममुकायम मुख्यन्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज आचार्यको सम्युक्त इजलासले आज पुन मतगणना गर्न आदेश दिएको हो ।
गत बैशाख ३१ मा सम्पन्न स्थानीय निर्बाचनमा पोखरा महानगर पालिकाको वडा नम्बर १८ मा नेपाली कांग्रेसको तर्फबाट उम्म्ेदवार बनेका शिवप्रसाद तिमिल्सिना ३ मतको अन्तरले विजयी भएका थिए भने एमालेका पुष्कल थापा पराजित भएका थिए । तिमिल्सिनाले १६४३ मत पाउँदा थापाले १६४० मत पाएका थिए ।
मतगणनाका क्रममा नौ मत गायव पारिएको भन्दै ३ मतले पराजित भएका पुष्कल थापाले पुन: मत गणना गर्न माग गरेपनि निर्बाचन समितिको कार्यालयले अस्वीकार गरेको थियो । त्यसपछि थापाले निर्बाचन आयोग, जिल्ला निर्वाचन कार्यालय कास्की, निर्बाचन अधिकृतको कार्यालय र विजयी वडाध्यक्ष तिमिल्सिनालाई प्रतिवादी बनाएर निवेदन दिएका थिए ।यो निवेदनमा वादीका तर्फबाट कानुन व्यवसायीहरु हरि सुवेदी, सुरेन्द्र थापा मगर र मदन तिवारीले बहस पैरवी गरेका थिए ।













