पोखरा, १८ चैत । पोखरामा शनिबार एकै मञ्चबाट चार साहित्यिक श्रष्ठा सम्मानित भएका छन् । साहित्यिक संस्था संघर्षमा कलम पोखराले साहित्य क्षेत्रमा लागेर समाजमा पुर्याएको योगदानको आधारमा चार श्रष्ठालाई नगदसहित सम्मान गरेको हो । साहित्यकार तथा लोक गायिका हरिदेवी कोइरालाले ती श्रष्ठालाई नगदसहित सम्मान गर्नुभएको हो ।
बाबा साहित्य साधक पुरस्कार २०७८ द्धारा तनहुँका साहित्यकार तथा कवि आनन्द सुन्दर श्रेष्ठ र बाबा साहित्य साधक पुरस्कार २०७९ द्धारा लिली अधिकारी सम्मानित भएका हुन् । त्यस्तै ऋषिराम रानाभाट स्मृति पुरस्कार २०७८ द्धारा म्याग्दीका लोकनाथ भूषाल र ऋषिराम रानाभाट स्मृति पुरस्कार २०७९ द्धारा कास्कीका साहित्यकार सावित्री गिरीलाई नगदसहित सम्मन गरिएको छ ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहित्यकार हरिदेवी कोइरालाले मानिसको जीवन सघर्षपूर्ण भएकाले साहित्य क्षेत्रमा कलम चलाउँदै आएका श्रष्ठाले आफ्नो कलम बन्द गर्न नुहने बताउनुभयो । साहित्य क्षेत्रमा लागेका व्यक्तिहरु अझैपनि यो क्षेत्रबाट बाच्न सक्ने अवस्था नरहेकाले सरकारले साहित्य क्षेत्रमा लाग्ने व्यक्तिको हितमा कार्यक्रम ल्याउन जोड कोइरालाले दिनुभयो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यखड्का विखर्चीले राज्यको तर्फबाट साहित्य क्षेत्रलाई वेवास्ता गरिएको बताउँदै कैयौ साहित्यिक श्रष्ठा बिरामी पर्दा उपचार नपाएर भौतारिनु परेको गुनासो पोख्नुभयो ।
भदन पुरस्कार विजेता चन्द्रप्रकाश बाँनियाले सफल साहित्यकार बन्नका लागि अध्ययन, लगनशीलता र अनुकुल वातावरण आवश्यक पर्ने बताउनुभयो । सम्मानित व्यक्तित्व आनन्द सुन्दर श्रेष्ठले साहित्यिक क्षेत्रबाट समाजलाई परिवर्तन गर्न निकै कठिन भएको बताउँदै सरकारी क्षेत्रबाट साहित्यिक क्षेत्रका लाग्ने व्यक्तिका लागि सहयोग आवश्यक पर्ने बताउनुभयो । उक्त संस्थाका अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा भएको सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।













