मुन्सी प्रेमचन्दका केही अमर वाणीहरु
१) जोसँग प्रेम भयो ऊसँग द्वेष हुन सक्दैन । उसले हामीसँग जतिसुकै अन्याय नै किन नगरोस् । जहाँ प्रेमिका प्रेमीको हातबाट मारिन्छे त्यहाँ प्रेम छँदै थिएन भन्ने बुझ्नु, त्यो केवल विषयको वासना र स्वार्थ थियो ।
२) हृदयको बन्धन वास्तविक विवाह हो । सिन्दूरको टीका, गाँठोको बन्धन र पोतेको बन्धन सांसारिक ढोङ हो ।
३) जसरी ऊँखूबाट रस झिकेपछि केवल छोक्रा रहन्छ, त्यसरी नै मानिसको हृदयबाट प्रेम निस्क्यो भने हाड–मासु र छालाको थुप्रो बाँकी रहन्छ ।
४) जुन प्रेम असहिष्णु छ, अरुको भावनाको कत्ति विचार गर्दैन, झुटो आरोप लगाउनमा कत्ति संकोच गर्दैन, त्यो त उन्माद हो प्रेम हैन ।
५) विवाह त एउटा सामाजिक सम्झौता हो, त्यसलाई चुँडाल्ने अधिकार नारी–पुरुष दुवैलाई छैन । सम्झौतापूर्व तपाईं स्वतन्त्र हुनुहुन्छ तर सम्झौतापछि तपाईंका हात काटिन्छन् ।
६) प्रेमले जब आत्मसमर्पणको रुप लिन्छ, त्यही नै विवाह हो । त्यसभन्दा अघिको विलासमात्र हो ।
७) धनलाई तपाई निश्चित दूरीसम्म फिँजाउन सक्नुहुन्छ । तर बुद्धिलाई, चरित्रलाई सत्यलाई, प्रतिभालाई र बललाई बराबर फिँजाउन चाहनुहुन्छ भने त्यो तपाईंको शक्ति र क्षमताबाहिर छ ।
८) सानो–ठूलोको भेद केवल धनैबाट हुँदैन । मैले ठूलाठूला धनकुबेरलाई भिक्षुका सामुन्ने घुँडा टेकेको देखेको छु, तपाईंले पनि देख्नुभएकै होला । रुपको सँघारमा ठूलाठूला मै हुँ भन्नेले पनि नाक घोटेका छन् । के यो सामाजिक विषयमा होइन ?
९) मानिसले जीवनमा केही ठूलो कुरा कमाउँछ भने त्यो उसको नाम हो । यो कुनै भिन्दै हो कि धनवान केवल धन कमाउँछ तर उसको नाम धेरै दिन रहन्न । एक विद्वानको नाम धनवानको भन्दा धेरै पछिसम्म जीवित रहन्छ । विद्वान नामका लागि मर्दछ जबकि धनवान पैसाको लागि मर्न तयार रहन्छ । यी दुवैका बीच यही नै ठूलो भिन्नता छ ।
१०) धनीलाई धनको मात लाग्दछ, घमण्ड हुन्छ तर मर्न गरिबको छाप्रामा क्रोध र अहङ्कारका लागि ठाउँ हुँदैन ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













