पेटमा उत्पादन हुने एसिड खाना नलिमा पुगेपछि छाती दुख्ने र पोल्ने गर्छ । धेरै जसो खाना खाइसकेपछि वा पल्टिँदा छाती पोल्ने गर्छ । एकैपल्टमा टन्न वा आवश्यकता भन्दा बढी खाना खानु, खाना खाने बित्तिकै सुत्नु, चिल्लो र बोसोयुक्त खाना खानु, ज्यादै मसालेदार खाना खानु आदि कारणले यो रोग लाग्ने गर्छ ।
छाती पोल्ने समस्याबाट मुक्ती पाउन भोजनमा सुधार, खाने शैलीमा सुधार एवं जीवनशैलीमा सकारात्मक परिवर्तन गर्नुपर्छ ।
खानपानमा ध्यान दिनुपर्ने कुरा
– एकै पल्टमा धेरै खाना खाँदा बढी एसिड उत्पादन भई छाती पोल्ने हुँदा बेला बेलामा थोरै थोरै खाना खानुपर्दछ ।
– खाना खाने बित्तिकै सुत्नाले यो समस्या हुने हुँदा खाना खाएको कम्तीमा ३–४ घण्टा पछि मात्र सुत्नुपर्दछ ।
– चकलेट, गोलभेँड, अमिला फलफूल, कफी, पुदिना आदिले समस्या बढाउने हुँदा यसको सेवन कम वा बन्द गर्नुपर्दछ ।
– रातीको खाना कम खानुपर्दछ ।
– राती आलु र दुध मात्र खानुमा लाभदायक हुन्छ ।
– धुम्रपान रक्सी सेवन बन्द गर्नुपर्दछ ।
– बोसोयुक्त चिल्लो तारेको खानेकुरा खानु हुँदैन ।
– घिउकुमारीको जूस १ कप पिउनाले छाती पोल्नुमा राहत मिल्छ ।
– १००–२०० ग्राम मेवा दैनिक सेवन गर्दा यस समस्यामा लाभदायक हुन्छ ।
– खाना खाएपछि पाइन्ट ट्राउजर आदिको पेटी खुकुलो पार्नुपर्दछ ।
– खाना खाने बित्तिकै पल्टिनु हुँदैन । बज्रासनमा १० मिनेट बस्नुपर्दछ ।
– रातीको भोजनपछि हिँड्नु लाभदायक हुन्छ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट