पोखरा, १३ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दिगो विकास र समृद्धि अगाडि वढ्न नसक्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति कास्कीको छौठौं जिल्ला सभालाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले भन्नुभयो–‘ लामो समयदेखि राजनीतिक अस्थिरता कायमै रहेका कारण नेपालले विकास निर्माण र समृद्धि तर्फ अगाडि वढ्न सकेको छैन । ’
‘राजनीतिक पार्टीबीचमा सत्ताका लागि खिचातानीका साथै सांसदहरुमा बहुमत र अल्पमतको खेलका कारण नयाँ बन्ने सरकारले लामो समय काम गर्न नपाउनुले नेपालमा दिगो विकास र समृद्धि अगाडि बढ्न सकेको छैन ।’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो– ‘स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएका कारण केही मात्रामा भएपनि स्थानीय स्तरका कार्यक्रम तथा योजनाले पाँच वर्षका लागि भएपनि निरन्तरता पाएको छ । ’
प्रतिनिधि सभा र प्रदेश सभाबाट बन्ने सरकार छोटो समयमा उदय र बिलय हुने थलो बनेको बताउदै उहाँले अब जुनसुकै दल सरकारमा गएपनि हामीले बनाएको कानूनलाई पालना गरी इमान्दारपूर्वक जनताको सेबामा जुट्न जोड दिनुभयो । ‘लोकतन्त्र, वहुजाति, बहुभाषा र वहुसंस्कृति भएको देशमा मेल मिलापको बाटोबाट नै सरकार र दलहरु अगाडि वढ्नुको विकल्प छैन,’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो–‘साझा अधिकारका सूची अन्तरगतका कानून निर्माणमा दलहरुले सक्रिय चासो नदेखाएका छैनन्, त्यसतर्फ आमी सबैको ध्यान जान जरुरी छ । ’
‘जिल्ला समन्वय समिति निमार्ण त गर्यौ तर अधिकार केही नदिँदा कामै गर्न नसक्ने अवस्थामा छ,’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो–‘ ६ वर्ष वितिसक्दा पनि जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न नबनाउँदा विकास निर्माणका कार्यमा भएको अनियमितता नियन्त्रण हुन सकेको छैन् ।’ प्रदेश सरकारले शिक्षाको करिकुलमलाई सुधार गर्दै अगाडि वढ्न लागेको बताउँदै उहाँले गण्डकी प्रदेश अन्तरगतका जिल्लामा ८ र ९ कक्षामा विद्यार्थीका लागि पोयोगात्मक तथा विशेष सीपका कार्यक्रम समेटेर लैजाने उहाँले बताउनुभयो ।
सो अवसरमा बोल्दै संघीय सांसद एंव राष्ट्रि स्वतन्त्र पार्टीका नेता शिव नेपालीले आम नागरिकलाई प्रत्याभूति हुने गरी तीनै तहको सरकारले आफ्ना कामकारवाही अगाडि वढाउन सुझाव दिनुभयो । साथै उहाँले जिल्ला समन्वय समितिले पारदर्शी रुपमा आफ्ना गतिविधि अगाडी बढाउँदै विकास निर्माका कारर्यमा समन्वयकारु भूमिका खेल्न समेत उहाँले सुझाव दिनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जिल्ला समन्वय समितिले प्रदेश र स्थानीय सरकारले गर्ने विकास निर्माणको कार्यमा समन्वयकारी भूमिका खेल्नुको साथै विकास निर्माणको कार्यमा पारदर्शीता भएनभएको बारेमा प्रभावकारी रुपमा अनुगमन गर्न सुझाव दिनुभयो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कास्कीबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।













