‘सीप सिकैं र आत्म निर्मर बनौं’ भन्ने नारासहित पोखरा–१३ का ७१ युवालाई नि:शुल्क होटल तालिम प्रदान गरिएको छ । एक महिने उक्त तालिमलाई पोखरा १३ को आर्थिक सहयोग र एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालिको प्राविधिक सहयोग रहेको थियो ।
पोखरा–१३ का वडाध्यक्ष किरण बरालले तालिममा ४१ पुरुष र ३० महिलाले सहभागिता जनाएको बताए । बिहीबार आयोजित तालिम समापन कार्यक्रममा बोल्दै बरालले आत्मनिर्भर मुखी कार्यक्रम ल्याई स्थानीयलाई जीविकोपार्जनमा थप सहज बनाइने प्रस्ट पारे ।
तालिममा सहभागी सबैलाई महानगरका शिक्षा प्रमुख हेमप्रसाद आचार्यले प्रमाणपत्र वितरण गरेका थिए । उनले वडाले यस्ता प्रोत्साहनमूलक कार्यहरू गर्नलाई सुझाए ।‘युवाहरूमा गरेको लगानी खेर जाँदैन । लगानीलाई थप फलदायी बनाउन सबैजनाको सक्रियताको आवश्यक रहेको छ’, प्रमुख अतिथि आचार्यले भने ।













