सबै खाले केटाकेटीको एउटा समान मानसिकता हुन्छ— जे नगर्नु भनिन्छ त्यही गर्नुमा उनीहरुलाई मज्जा आउँछ । एकपल्ट विश्वविख्यात मनोवेत्ता सिग्मण्ड फ्रायड आफ्नी पत्नी र छोरीसित कुनै ठूलो पार्कमा घुम्न गएका थिए । छुट्टिको दिन भीड निकै थियो । अचानक छोरी हराउँछे ।
जोईपोई दुवैले वरपर खौज्दा पनि भेट्दैनन् । पछि फ्रायडले गम्भीर हुँदै श्रीमतीसित सोध्छन्— तिमीले पार्क छिर्दा छोरीलाई फलानो ठाउँमा नजानू भनेर त भनेकी थिएनौ ? श्रीमतीले भनिन्— त्यसो त भनेको थिएँ पार्कको फोहोरामा नजानू, पानीमा खसौली भनेको थिएँ ।
फ्रायड तुरुन्तै त्यस ठाउँमा पुग्छन् छोरीलाई त्यसै पानीमा खेलिरहेको अवस्थामा भेट्टाउँछन् । त्यसैले छोराछोरीलाई के नगर्नु, के नखानू, कहाँ जान्न हुन्न भनी आदेश दिनु हुन्न । बरु के गर्नु, के खानु, कहाँ जानु भनी बाटो देखाउन सक्नुपर्दछ । याद राख्नुस्— उनीहरु जति बढी नयाँ नयाँ प्रयोग, अनुभव गर्दछन्, त्यति नै विकास हुन्छ । त्यसैले आमा बाबाको काम उनीहरुलाई बढी भन्दा बढी अनुभव गर्न सघाउनु हो, रोक लगाउनु होइन । सानोतिनो गल्तीमा रोक लगाइयो भने छोराछोरीले ठूलो हुँदा ठूलै गल्ती गरी जिन्दगी बर्बाद पार्न सक्छन् ।
साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट












