पोखरा, १२ फागुन । वडाध्यक्षले कुटेको आरोपमा सब–इन्जिनियरले जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका छन् । कास्कीको माछापुच्छ्रे« गाउँपालिका–८ मा कार्यारत सब–इन्जिनियर लक्ष्मण जिसीले आफूमाथि सोही गाउँपालिकाका वडा नं ८ का वडाध्यक्ष रामबहादुर गुरुङले शुक्रबार बिहान कुटपिट गरेको आरोप लगाउँदै प्रहरीमा निवेदन दिएका हुन् ।
गुरुङले आफूमाथि इज्जत प्रतिष्ठामा आँच आउने किसिमले अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको तथा कुटपिट गरेको जिसीले बताएका छन् । वडाध्यक्ष गुरुङले टाउको, नाक, घाँटी र शरीरको विभिन्न भागमा चोटपटक लाग्ने गरि कुटपिटसमेत गरेको जिसीले निवेदनमा उल्लेख गरेका छन् ।
घटनाको विरोधमा कास्कीका विभिन्न कर्मचारी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाही तथा पीडितलाई क्षतिपूर्तिको माग गरेका छन् ।