पोखरा, १० फागुन । पोखरा–१० रामबजार क्षेत्रमा ९ गते राति बिभिन्न बैंकका एटिएम मेसिन फोर्ने प्रयास गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा उदयपुर जिल्ला घाईघाट नगरपालिका–७ घरभई हाल पोखरा–१७ बस्दै आएका २१ वर्षीय सुशील चाम्लिङ र लम्जुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका–४ घरभई हाल पोखरा– १७ छोरेपाटन बस्ने २१ वर्षीय अर्जुन भन्ने लु बहादुर गुरुङ छन् ।
बैकको एटिएम मेसिन फुटाउन लागेको सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनीहरुले पोखरा–१० रामबजार क्षेत्रमा रहेका नेपाल बैंक लिमिटेड, एनआईसी एशिया, साग्रीला डेभलपमेन्ट बैंक लिमिटेडका एटिएम मेसिन ढंगाप्रहार गरी तोडफोड गरेका थिए । उनीहरु दुबैलाई कास्की जिल्ला अदालतमा चोरी तथा डाँका सम्बन्धी कसुर अन्तरगत चोरी उद्योग मुद्दा दर्ता गरिएको छ ।
उनीहरुले एटिएम मेसिनको सिसिटिभी क्यामेरालाई कागजले छोपी मेसिमना ढुंगा प्रहार गरी फुटाउने प्रयास गरेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले दिनुभयो । उनीहरुमाथि थप अनुसन्धान सुरु गरिएको जानकारी खड्काले दिनुभयो ।













