महात्मा विदुरका केही अमर वाणीहरु
१. जो अर्थको पूर्णसिद्धि चाहन्छ, उसले पहिला धर्मकै आचरण गर्नुपर्दछ । जसरी अमृत स्वर्गबाट टाढा हुँदैन, त्यसरी नै धर्मबाट अर्थ भिन्न हुँदैन ।
२. जुन धन ज्यादै चिन्ता गर्नाले, धर्मको उल्लङ्घन गर्नाले अथवा शत्रुसामु भुक्नाले प्राप्त हुन्छ त्यसमा मन नदिनु ।
३. जो अधर्मबाट कमाएको धनले परलोक साधन, यज्ञादि काम गर्दछ, ऊ मरेपछि त्यसको फल पाउँदैन, किनकि त्यो त नीच मार्गबाट आएको हुन्छ ।
४. जो शान्त भएको शत्रुतालाई पुनः प्रज्ज्वलित गर्दैन घमण्ड गर्दैन, हीनता देखाउँदैन र आफूलाई विपत्तिमा परेको सोचेर अनुचित काम गर्दैन, त्यस्तो उत्तम आचरण हुने मानिसलाई आर्यहरुले सर्वश्रेष्ठ भन्दछन् ।
५. जो व्यक्ति धर्म–अर्थ–काम तीनैको समय अनुसार ग्रहण गर्दछ, ऊ यस जन्म र परजन्ममा धर्म–अर्थ–कामको संयोगलाई प्राप्त गर्दछ ।
६. हे राजन ! जो व्यक्ति क्रोध र हर्षमा उठेको वेगलाई ज्ञानपूर्वक रोक्दछ सङ्कट पर्दा पनि जो मोहग्रस्त हुँदैन, आत्तिदैन, त्यही व्यक्ति सम्पत्तिको पात्र हुन्छ अर्थात् यस्ता मानिसलाई नै सम्पत्ति प्राप्त हुन्छ ।
७. जो आफ्नो सुखमा प्रसन्न हुँदैन, अर्काको दुःखमा प्रसन्न हुँदैन र दान दिएपछि सन्ताप गर्दैन उसैलाई उत्तम पुरुषको संज्ञा दिइएको छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













