ग्यासको सिलिन्डर विस्फोट हुँदा घाइते भएका कांग्रेस सांसद डा। चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ।
काठमाडौंको बुद्धनगरस्थित सांसद भण्डारीको निवासमा गएराति ग्यास सिलिन्डर विस्फोट भएको थियो। खाना खाएर सुतिरहेको बेला सिलिन्डर विस्फोट हुँदा उनीसहित ८६ वर्षीया आमा हरिकला भण्डारीसमेत गम्भीर घाइते छिन्।
उनीहरूको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको स्वकीय सचिव भुवन भुसालले जनाएका छन्। सांसद भण्डारीको २५ प्रतिशत र आमाको ७० प्रतिशत भाग जलेको छ। अस्पताल स्रोतका अनुसार आमाको अवस्था चिन्ताजनक छ।
आइसियुमा उपचाररत सांसद भण्डारीलाई थप उपचारका लागि नयाँदिल्ली लैजाने तर्खर भइरहेको स्वकीय सचिव भुसालले बताएका छन्।













