मानव समाजमा बोलेर सञ्चार गरिने भाषाको विकास नभएको युगमा, शारीरिक भाषाबाटै एकअर्काको चाहना बुझ्ने बुझाउने गरिन्थ्यो । विभिन्न परिस्थितिमा प्राणीहरुको मनमा उब्जिने भावबमोजिम शरीरका अङ्गहरुमा आउने परिवर्तन नै शारीरिक भाषा हुन् । प्राकृतिक रुपमा रहेका यी शारीरिक क्रियाहरु मानवमा पहिले पनि थियो अहिले पनि छ । बोल्ने भाषाको विकास भएपछि शारीरिक भाषामा ध्यान दिन छोडिँदै आएका छन् ।
मानिसको व्यक्तित्वमा शारीरिक भाषाको ठूलो भूमिका रहेको हुन्छ । शारीरिक भाषा भन्नाले व्यक्तिले मुखबाट केही नबोलीकन अनुहार र शरीरको अङ्गहरुबाट हुने सञ्चार हो । शरीरको अवस्था, हाउभाउ तथा मनोभावका लक्षणबाट अरुलार्ई शारीरिक भाषाले आफ्नो मनोदशा इङ्गीत गर्दछ । हामीले थाहा नपाइकनै हाम्रो शारीरिक भाषाले हाम्रो मनोदशा सम्प्रेषण गरिरहेको हुन्छ । शारीरिक भाषाबाट मानिसहरुलाई बुझ्ने क्रिया प्रायः भइनै रहेको हुन्छ ।
अन्तर्वार्तामा शारीरिक भाषाबाटै धेरै कुरा थाहा भइसकेको हुन्छ । कसैले कुरा बुझिसकेको वा नबुझेको कुरा पनि शारीरिक भाषाबाटै थाहा पाइन्छ । बोलेर गरिने सञ्चारभन्दा शारीरिक भाषाका लक्षणहर सही हुन्छन् । शारीरिक भाषाको आधार व्यक्तिको मुद्रा हो ।
साभारः ‘उत्तम ज्ञान’ पुस्तकबाट