काठमाडौं । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनको माडी कल्याणपुर वर्षा मापन केन्द्रमा २२२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।
यस्तै, परासीको बर्दघाट मापन केन्द्रमा २०७ मिलिमिटर, चितवनको मेघौलीमा २०२ दशमलव ८ मिलिमिटर र तनहुँको अत्रौलीटारमा २०२ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ ।
२४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ । १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षा भनिन्छ ।
महाशाखाका अनुसार मधेस प्रदेशसहित गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको छ ।
आजदेखि मौसममा केही सुधार आउने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार कोशी र मधेस प्रदेशमा आकाश खुल्दै जाने तथा काठमाडौं उपत्यकामा मौसममा उल्लेख्य सुधार हुने सम्भावना छ ।













