काठमाडौं । स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा ठप्प पारेपछि अहिले सरकार र चिकित्सक संघबीच वार्ता भइरहेको छ । स्वास्थ्यकर्मीको सुरक्षा, सेवा नियमित र उच्चपदस्तहरुको सवारी मापदण्डका विषयमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वार्ता भइरहेको हो ।
प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे र चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की नेतृत्वको टोली वार्तामा सहभागी छन् । आफ्ना माग पूरा भए आन्दोलनका कार्यक्रम फिर्ता लिने चिकित्सक संघले बताएको छ ।
देशभरका अस्पतालको आकस्मिकबाहेकका सबै काम ठप्प भएपछि सरकारले आन्दोलन फिर्ताको लागि संघलाई आग्रह गरेको छ । यसअघि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो ।
आन्दोलनको कार्यक्रम फिर्ता लिएर नागरिकहरुको स्वास्थ्य उपचारको नियमित काममा जुट्न मन्त्रालयले सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलागयत सम्बद्ध सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।
चिकित्सकको आन्दोलनले आकस्मिकबाहेकका सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामीहरु भने मर्कामा परेका छन् । अस्पताल पुगेका बिरामीहरु उपचार बिनै घर फर्किन बाध्य भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सकमाथि सुरक्षाकर्मीले कुटपिट गरेको विरोधमा चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरेको हो । गत शुक्रबार भएको घटनामा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा। जनिथलाल सिंह प्रहरीको कुटाइबाट घाइते भएका थिए ।