काठमाडौं । काठमाडौं महानगरपालिका–४ स्थित घुम्रबराही युवा समाज क्लबमा युवालाई शारीरिक तन्दुरुस्ती तथा स्वस्थ जीवनशैलीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले नयाँ जिम क्लब सञ्चालनमा ल्याइएको छ।
जिम क्लबको औपचारिक उद्घाटन काठमाडौं महानगरपालिका–४ का वडा अध्यक्ष दिनेश महर्जनले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा स्थानीय युवा, समाजसेवी, क्लबका पदाधिकारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

समुदायमै नियमित व्यायाम गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले जिम क्लब सञ्चालनमा ल्याइएको क्लबले जनाएको छ। पछिल्लो समय युवामा शारीरिक व्यायाम तथा स्वास्थ्यप्रति बढ्दै गएको चासोलाई ध्यानमा राख्दै स्थानीयस्तरमै आवश्यक पूर्वाधार उपलब्ध गराइएको बताइएको छ।
जिम क्लब सञ्चालनसँगै घुम्रबराही तथा आसपासका क्षेत्रका युवाले सहज रूपमा शारीरिक अभ्यास गर्न पाउने अपेक्षा गरिएको छ। नियमित व्यायाममार्फत शारीरिक स्वास्थ्यसँगै अनुशासन, आत्मविश्वास र सकारात्मक जीवनशैली विकासमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

विशेषगरी युवाको खाली समयलाई स्वास्थ्यप्रवर्द्धक तथा सिर्जनात्मक गतिविधिमा उपयोग गराउने माध्यमका रूपमा जिम क्लबलाई विकास गर्ने लक्ष्य राखिएको छ।
उद्घाटन कार्यक्रममा वडा कार्यालयले जिम क्लबको सफल सञ्चालन तथा दिगो व्यवस्थापनका लागि शुभकामना व्यक्त गर्दै स्थानीय युवा, खेलकुद तथा स्वास्थ्य प्रवर्द्धनसँग सम्बन्धित गतिविधिलाई आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको थियो।
समुदायको आवश्यकता र युवाको स्वास्थ्यलाई केन्द्रमा राखेर सञ्चालनमा आएको जिम क्लबले स्थानीय युवाको शारीरिक तन्दुरुस्तीका साथै सकारात्मक सामाजिक वातावरण निर्माणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।













