काभ्रेपलाञ्चोकमा बर्डफ्लू सङ्क्रमणका कारण हालसम्म ३० कृषकको पन्छीमा लाखौँको क्षति पुर्याएको छ।
बर्डफ्लू सङ्क्रमणले क्षति पुगेका कृषकलाई क्षतिपूर्ति दिलाउन थालिएको जिल्ला पशुसेवा कार्यालय धुलिखेलले जनाएको छ।
कार्यालयका अनुसार हालसम्म २० कृषकले क्षतिअनुसारको क्षतिपूर्ति प्राप्त गरिसकेका छन्।
बाँकी १० कृषकको क्षतिपूर्ति रकम चालु आर्थिक वर्षमा दिइने कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक ब्रजकिशोर ठाकुरले बताए। उनका अनुसार विभिन्न मितिमा बर्डफ्लू प्रमाणित भएका ३० कृषकका खोरमा रहेका कुखुरा तथा अन्य पन्क्षी नष्ट गरिएको थियो।
बर्डफ्लू प्रमाणित भएका ३० कृषकमध्ये २० ले गत आर्थिक वर्षको अन्त्यतिर राहत रकम प्राप्त गरिसकेको जनाइएको छ।
कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा गिरिराज कुखुरा, लेयर्स, ब्रोइलर, राजहाँस, स्थानीय कुखुरा र पेकिङ हाँसलगायत गरी ९० हजार २७५ पन्क्षी नष्ट गरिएको छ।
यस्तै ३८ हजार १८३ अण्डा, १० हजार २१० केजी दाना र पाँच हजार २७५ क्रेट नष्ट गरिएको हो। विशेषगरी जिल्लाको बनेपा, पनौती तथा पाँचखाल क्षेत्रका विभिन्न फर्ममा बर्डफ्लु सङ्क्रमण पाइएको थियो।
बर्डफ्लु महामारीले काठमाडौँ उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकलाई समेत प्रभावित बनाएको थियो।
कोशी प्रदेशबाट २०८२ चैतमा सुरु भएको उक्त महामारी गत असार मसान्तसम्म काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लामा फैलिएको थियो।













