काठमाडौं । भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय चार महिनापछि पुनः सञ्चालनमा आएको छ। भाडा विवादका कारण चार महिनादेखि बन्द रहेको पुस्तकालय अब समाज कल्याण परिषद्को मातहतमा सञ्चालन हुने भएको हो।
महिला, बालबालिका तथा लैङ्गिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीको साउन १९ गतेको निर्णयअनुसार समाज कल्याण परिषद्, जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं महानगरपालिका–२८ र पुस्तकालयका प्रतिनिधिको उपस्थितिमा बुधबार पुस्तकालयको ताला खोलिएको हो। तालाबन्दी भएको ११४ दिनपछि पुस्तकालय सञ्चालनमा आएसँगै सर्वसाधारणले पुनः अध्ययन सेवा पाउने भएका छन्।
परिषद्को स्वामित्वमा रहेका भृकुटीमण्डपस्थित भवनको भाडा बक्यौता विवादका कारण गत चैत ३० गतेदेखि पुस्तकालय बन्द भएको थियो। परिषद्का प्रशासन प्रमुख खगनाथ रेग्मीका अनुसार पुस्तकालय समाजले परिषद्कै मातहतमा सञ्चालन गर्न सहमति जनाएपछि ताला खोल्ने प्रक्रिया अघि बढाइएको हो।
पुस्तकालयका व्यवस्थापक लीलाप्रसाद भट्टराईले अब सञ्चालनको मोडालिटी र व्यवस्थापनबारे विस्तृत छलफल हुन बाँकी रहेको बताए।
समाज कल्याण परिषद् र पुस्तकालयबीच २०६६ सालदेखि नयाँ भाडा सम्झौता हुन नसक्दा विवाद चुलिएको थियो। पुस्तकालय समाजले सामाजिक सेवामूलक संस्थाका रूपमा पाउँदै आएको ७५ प्रतिशत भाडा छुट कायम हुनुपर्ने अडान राख्दै २५ प्रतिशत भाडा मात्रै तिर्दै आएको थियो। परिषद्ले भने पूर्ण भाडा माग गर्दै करिब दुई करोड ८५ लाख रुपैयाँ बक्यौता रहेको दाबी गरेको छ।
आर्थिक अभावका कारण पछिल्ला वर्षहरूमा पुस्तकालय सञ्चालनसमेत प्रभावित हुँदै आएको थियो। शिक्षा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेश सरकार र काठमाडौं महानगरपालिकाबाट प्राप्त हुँदै आएको अनुदान बन्द भएपछि वार्षिक करिब एक करोड रुपैयाँ खर्च हुने पुस्तकालय आर्थिक संकटमा परेको थियो।
वि.सं. २०६० मा स्थापना भएको उक्त पुस्तकालयमा ५० हजारभन्दा बढी पुस्तक संग्रहित छन्, जसमध्ये करिब ७० प्रतिशत पुस्तक दाताबाट प्राप्त भएका हुन्। पुस्तकालयका करिब पाँच हजार वार्षिक सदस्य छन् भने दैनिक औसत १५० जना अध्ययनका लागि आउने गरेका छन्।
पुस्तकालय संरक्षण अभियन्ता तथा लेखक–सम्पादक विमल आचार्यले लामो विवादपछि पुस्तकालय पुनः सञ्चालनमा आउनु सकारात्मक भएको प्रतिक्रिया दिँदै यसको दीर्घकालीन सञ्चालनका लागि पारदर्शी कार्यविधि तयार गर्न र संस्थापक, दाता तथा सरोकारवालासँग परामर्श गरेर अगाडि बढ्न सरकारलाई आग्रह गरेका छन्।













