काठमाडौं । साहित्यकार, गायिका तथा समाजसेवी उमा श्रेष्ठको पहिलो साहित्यिक कृति ‘मौन छ देश’ र तीज गीत ‘या माया लाउँछौ कि एतै’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार तथा साहित्यकार चुडामणि देवकोटाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उमा श्रेष्ठको साहित्यिक यात्रा र सांगीतिक सिर्जनाको औपचारिक शुभारम्भ गरिएको हो ।
देश सेवामा लामो समय समर्पित रहेकी श्रेष्ठले ३८ वर्ष निजामती सेवामा योगदान दिई अवकाश प्राप्त गरेकी हुन् । उनले दुई दर्जनभन्दा बढी विभिन्न संघसंस्थासँग आबद्ध भएर सामाजिक तथा सिर्जनात्मक क्षेत्रमा योगदान पु¥याउँदै आएकी छन् ।
श्रेष्ठको आफ्नै शब्द तथा संगीत रहेको तीज गीत ‘या माया लाउँछौ कि एतै’ मा उनको स्वरका साथै राष्ट्रगायक सुमित खड्काको स्वर रहेको छ । गीतको मिक्सिङ तथा मास्टरिङ निरज श्रेष्ठले गरेका छन् ।
गीतको अडियो तथा भिडियो निर्माण ‘उमा अन द वे’ मार्फत गरिएको हो । भिडियोको निर्देशन तथा कोरियोग्राफी देवेन्द्र कुँवरले गरेका छन् । भिडियोमा निरीक्ष्या श्रेष्ठ र गोविन्द थापाको अभिनय रहेको छ । भिडियो सम्पादन तथा कलरिङ विश्वाराम खड्काले गरेका हुन् ।












