काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका नेपाली सेनाको अस्थायी ब्यारेक बाढीले क्षतिग्रस्त भएको छ।
केही दिनअघि परेको अविरल वर्षापछि सेती नदीमा आएको बाढीले प्रिफ्याब र जस्तापाताले निर्माण गरिएको ब्यारेकका तीनवटा कोठा पूर्ण रूपमा बगाएको प्रहरीले जनाएको छ।
सार्दीखोला प्रहरी चौकीका वरिष्ठ हवल्दार टीकाराम गुरुङका अनुसार बाढीले सेनाका हातहतियार भने सुरक्षित रहे पनि लत्ताकपडा तथा अन्य आवश्यक सामग्री बगाएको छ।
प्रहरीको टोली मङ्गलबार घटनास्थल पुगेर क्षतिको विवरण संकलन गरेको थियो। दुर्गम भौगोलिक अवस्थाका कारण घटनाबारे जानकारी ढिलो प्राप्त भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रभावित क्षेत्रमा क्षतिको थप मूल्याङ्कन तथा आवश्यक व्यवस्थापनको काम अघि बढाइएको छ।












