काठमाडौँ । ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनबापत उठ्ने जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्ने भन्ने समाचार तथा सामाजिक सञ्जालमा फैलिएका दाबीहरू भ्रामक र तथ्यहीन रहेको नेपाल प्रहरीले स्पष्ट पारेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीले संकलन गर्ने सम्पूर्ण जरिवाना रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने व्यवस्था रहेको जनाएको हो।
प्रहरीका अनुसार उक्त राजस्वबाट ट्राफिक प्रहरी कर्मचारीलाई कुनै पनि प्रकारको अतिरिक्त सुविधा वा विशेष भत्ता दिने कानुनी व्यवस्था छैन।
प्रहरी प्रधान कार्यालयले तथ्य पुष्टि नगरी अनुमानका आधारमा समाचार वा टिप्पणी सार्वजनिक गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुनुका साथै सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने जनाएको छ।
नेपाल प्रहरीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई कुनै पनि सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न तथा जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाको पछि नलाग्न र आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न सबैसँग अनुरोध गरिएको छ।













